काठमाडौं– चिकित्सा शिक्षा अनियमितताका दोषीका रुपमा कारबाही सिफारिसमा परेका त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा रामप्रसाद उप्रेती महारागगञ्ज क्याम्पसको प्रमुख हुँदा समेत अनियमितता र विभिन्न दुरुपयोगमा संलग्न रहेका थिए।
शिक्षा मन्त्रालयका पूर्व सचिव जयराम गिरीको अध्यक्षतामा गठित छानबिन समितिले जाँचबुझका क्रममा क्याम्पस प्रमुख हुँदा उनले गरेको अनियमितता र दुरुपयोगका कारण संस्थालाई आर्थिक रुपमा दीर्घरोग लगाइदिएको फेला पारेको थियो।
‘कानुनले तोकेको आधार वेगर जथाभावी कर्मचारी भर्ना गर्ने, राजनीतिक दल र जनआन्दोलनका घाइते वा सहिदका छोराछोरीलाई रोजगार दिलाउने मानवीय वा संवेदनशील कुराहरुको आडमा जथाभावी अनावश्यक रुपमा कर्मचारीहरु भर्ना गरी संस्थानलाई आर्थिक रुपमा दीर्घरोग लगाइदिएको समेत देखिएको छ,’ समितिको प्रतिवेदनमा भनिएको छ।

पाँच सदस्यीय छानबिन समितिले डा उप्रेती प्राज्ञिक क्रियाकलापमा भन्दा राजनैतिक क्रियाकलापमा बढी सक्रिय रहेको समेत फेला पारेको थियो। जाँचबुझका क्रममा समितिले डा उप्रेती राजनीतिक रुपमा वकालत गर्दै हिँडेको तथ्य फेला पारेको हो।
क्याम्पस प्रमुखका रुपमा डा उप्रेतीले क्याम्पसमा प्राज्ञिक गतिविधि र शैक्षिकस्तर कामय राख्नेतर्फ कुनै पहल नगरेको समेत छानबिन समितिले फेला पारेको थियो।
‘कानुनले गर्नु भनेका कार्यहरु शैक्षिक गुणस्तरसम्बन्धी अनुगमन गर्ने, परीक्षा प्रणाली सुधार गर्ने, विद्यार्थीको शैक्षिकस्तर उकास्ने, क्याम्पस अन्तर्गत कार्यरत शिक्षकहरुले गरेका प्राज्ञिक गतिविधिहरुको अनुगमन र मूल्यांकन समेत नगरी कानुन विपरित कार्य गरी व्यक्तिगत उद्दन्डता प्रदर्शन गरेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ।
क्याम्पस प्रमुखसहित तत्कालिन समयका चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा अरुण सायमी लगायतका पदाधिकारीले परीक्षामा अनियमितता गरेको, रकमको लेनदेनमा प्रश्नपत्र बाहिर ल्याएको, लगायतका विषयमा विवाद भएपछि त्रिवि शिक्षण अस्पताल १९ दिनसम्म बन्द भएको थियो। २०६६ साल फागुन २९ देखि १८ गतेसम्म अस्पतालक नै बन्द भएपछि सरकारले गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले सोही आधारमा छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनमा डिन सायमीसहितका पदाधिकारी र क्याम्पस प्रमुखले परीक्षामा अनियमितता गरेको, प्रश्नपत्र बिक्रि गरेको पुष्टि भएको थियो। समितिले डिन सायमी, क्याम्पस प्रमुख डा उप्रेती सहितका पदाधिकारीलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो।
क्याम्पस प्रमुख डा उप्रेतीले गरेका गलत कामहरु
प्रतिवेदनमा क्याम्पस प्रमुखले गरेका अनियमितता र गलत कामहरुको विवरणलाई ‘महारागजञ्ज चिकित्सा क्याम्पस सञ्चालन सम्बन्धमा’ भन्ने शीर्षकमा उल्लेख गरिएको छ। जसमा क्याम्पस प्रमुख डा उप्रेतीले संस्थानको आवश्यकतालाई ख्याल नगरी अति महंगा सवारी साधन र अनावश्यक सामग्रीहरु ख्रिद गरी सीमित स्रोतको दुरुपयोग गरेको, प्राज्ञिक क्रियाकलापलाई प्राथमिकता दिनुपर्नेमा राजनैतिक क्रियाकलापको वकालत गर्दै हिँडेको, अस्पताल सञ्चालनमा समन्यव गर्न नसकेको, सहिदका छोराछोरीका नाममा कर्मचारीहरु जथाभावी भर्ना गरी संस्थानको स्रोतको दुरुपयोग गरेको, प्रायोजित रुपमा कर्मचारीहरुको सानो संख्यालाई विश्वास लिई काम गर्ने गरेको, अनुभवी र बरिष्ठ कर्मचारीहरुलाई निरुत्साहित गरेको लगायतका गलत काम गरेका थिए।

नेकपा नेतासँगको भेटपछि डा केसीविरुद्ध कार्यक्रम
जयराम गिरीको संयोजकत्वमा गठित समितिले डा उप्रेती प्राज्ञिक भन्दा राजैनिक वकालत गर्ने व्यक्ति भनेर ठोकुवा गरिसकेको छ। उनै डा उप्रेतीले बिहिबार त्रिवि शिक्षण अस्पतालमा डा केसीविरुद्धको कार्यक्रम गरेका थिए। क्ेही दिन अघि नेकपाका नेताहरुसँगको भेटपछि उनले अस्पताल परिसरमा नै डा केसीविरुद्धको कार्यक्रम आयोजना गरेका हुन्।
डा उप्रेतीलाई विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगले चिकित्सा शिक्षा अनियमिततामा दोषी रहेको भन्दै कारबाही सिफारिस गरेको छ।
डा गोविन्द केसीले आफ्नो १६ औं अनसनमा आयोगले दोषी ठहर गरेका सबैलाई कारबाही गर्न माग गरेका छन्। उक्त कारबाहीबाट जोगिन र आयोगको उक्त प्रतिवेदनलाई तुहाउन उनले डा केसीविरुद्ध कार्यक्रम गरेका हुन्।
डा केसीविरुद्धको कार्यक्रममा अनेरास्ववियू र बिएन्डसीका प्रतिनिधि

डा उप्रेतीको अगुवाईमा भएको डा केसीविरुद्धको कार्यक्रममा रत्नराज्यलक्ष्मी क्याम्पसका अनेरास्ववियूका विद्यार्थी, अनेरास्ववियूका केही नेता, बिएन्डसी अस्पतालका प्रतिनिधहरुको सहभागिता रहेको थियो। त्रिवि शिक्षण अस्पतालका तर्फबाट दुई चार जना कर्मचारी मात्र विरोध कार्यक्रममा सहभागि थिए। उनीहरु प्नि डा उप्रेतीको आग्रहमा कार्यक्रममा सहभागि भएका थिए।
यो पनि पढौं :