काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले गायिका आनी छोइङ डोल्माका नाममा निजी अस्पतालमा व्यापार गर्दै आएका छन्।
सरकारी अस्पतालमा निर्देशक रहेका डा श्रेष्ठले गायिका आनी अध्यक्ष रहेको आरोग्य फाउन्डेसनको नाम दुरुपयोग गरी आफ्नै छोरीको लगानी रहेको निदान अस्पतालमा समेत काम गर्दै आएका छन्।
आफ्नो नामको दुरुपयोग गर्दै डा पुकारले निजी अस्पतालमा व्यापार गर्न थालेपछि आनी उनीसँग रुष्ट भएको तथ्य खुलासा भएको छ। पछिल्लो समय उनीहरुबीच सम्बन्ध चिसिएर बोलचाल नै बन्द हुने अवस्थामा पुगेको बताइएको छ।
गरिब बिरामीलाई सस्तो र गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउन भन्दै आनीको अध्यक्षतामा आरोग्य फाउन्डेसन स्थापना भएको थियो। डा पुकार फाउन्डेसनका महासचिव हुन्। फाउन्डेसन र निदान अस्पताल एउटै परिसरमा रहेको छ।
मिर्गौला फेल भएका बिरामीलाई सहज रुपमा कम शुल्कमा डायलाइसिस सेवा दिन र मिर्गौला प्रत्यारोपण गर्नुपूर्व अनिवार्य रुपमा गर्नुपर्ने एचएलए जाँचका लागि फाउन्डेसन खुलेको हो। फाउन्डेसनले एचएलए मेसिन सञ्चालन गर्नुपूर्व नेपालमा उक्त मेसिन कँही पनि थिएन। मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीले उक्त परीक्षण गर्न भारतमा पठाउनु पर्ने बाध्यता थियो।
‘गरिब बिरामीलाई सहज रुपमा सेवा दिने उद्देश्यले खोलेको फाउन्डेसनलाई डा पुकारले दुरुपयोग गरेर व्यापार गरे,’ फाउन्डेसन निकट स्रोतले भन्यो, ‘गैरनाफामूलक र सेवामूलक फाउन्डेसनको दुरुपयोग भएपछि आनी र डा पुकारबीच विवाद भएको हो।’
फाउन्डेसनले एचएलए, डायलाइसिस र ल्याबका अन्य सेवाहरु सञ्चालन गर्दै आएको छ। निदान अस्पतालले फाउन्डेसनकै ल्याबबाट नै सबै काम चलाउँदै आएको छ। तर, फाउन्डेसनको ल्याबको सबै रकम भने निदान अस्पतालले लिँदै आएको छ।
‘बिरामीलाई सस्तोमा गुणस्तरीय सेवा दिन खोलेको फाउन्डेसन अन्तर्गत रहेको ल्याब निदानको स्वार्थमा प्रयोग भएको छ। निदान अस्पतालका सबै बिरामीको रिपोर्ट फाउन्डेशनको प्रयोगशालामा परीक्षण हुन्छ। तर निदान अस्पतालले फाउन्डेशनलाई कुनै शुल्क तिर्दैन,' निदान अस्पतालका एक कर्मचारीले भने, 'यसरी महँगो शुल्कमा निदान अस्पतालको स्वार्थमा फाउन्डेशनका मेसिन प्रयोग हुन थालेपछि आनीले विरोध गर्दै आएकी थिइन्।’
‘मिर्गौला प्रत्यारोपण सर्जन समेत रहेका डा पुकारले बिरामीको मर्का बुझेर सेवा गर्लान् भनेको त व्यापार पो गर्न थाले। यसपछि आनी तनावमा हुनुहुन्छ,’ ती कर्मचारीको भनाइ छ।
निदान अस्पतालका लागि डा पुकारले केही समय पहिला आनीसँग २ करोड रुपैयाँ लिएर लामो समयसम्म तिरेका थिएनन्। आनीले उक्त विषयमा पटक पटक गुनासो गरेपछि अस्पतालले किस्ताबन्दी रुपमा आनीको पैसा तिरेको थियो।
डा पुकारले आनीको नामको दुरुपयोग गरेर व्यापार गरेपछि आनीले फाउन्डेसन नै छाड्ने तयारी गरेको समेत स्रोत बताउँछ। ‘फाउन्डेसनका लागि विगतमा च्यारिटीलगायतका काम गरेर सहयोग रकम संकलन गर्दै गरिबको सेवामा जुट्नु भएकी आनी अहिले फाउन्डेसनबाट नै बाहिरिने तयारीमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘बिरामीको सेवाका लागि उहाँले छुट्टै संस्था खोलेर सेवा गर्ने योजना बनाउनु भएको छ।’
स्वास्थ्यखबरले यो विषयमा राखेको जिज्ञासामा आनीले आफ्नो कुनै कुरा नराख्न आग्रह गरिन्। उनले मिर्गौला प्रत्यारोपणका लागि डा पुकारले ठुलो योगदान गरेको भन्दै अरु केही नलेखिदिन आग्रह गरिन्।
डा पुकारले भने आफू मिटिङमा रहेको भन्दै यो विषयमा कुरा गर्न चाहेनन्।
फाउन्डेसनमा को-को छन्?
डा पुकारले आनी र फाउन्डेसनको नाम दुरुपयोग गरेको कुरा फाउन्डेसनका अन्य पदाधिकारीलाई समेत चित्त बुझेको छैन। फाउन्डेसनमा अरु सदस्य सक्रिय नभए पनि आनी भने सक्रिय छिन्। आमाको मिर्गौला फेल भएर मृत्यु भएपछि आनी मिर्गौला रोगीको सेवामा लागेकी हुन्।
आनी छोइङ अध्यक्ष रहेको फाउन्डेसनमा व्यापारी, कलाकारदेखि अन्य थुप्रै चिरपरिचित र प्रतिष्ठित व्यक्तिहरू समेत रहेका छन्। फाउन्डेसनको उपाध्यक्ष कुलचन्द्र गौतम हुन्। गौतम संयुक्त राष्ट्रसंघको सहायक महासचिव भइसकेका व्यक्ति हुन्।
फाउन्डेसनको कोषाध्यक्षमा सुदर्शनराज पाण्डे छन् भने सदस्यहरुमा क्रमशः नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य, डा विमल कुमार थापा र नविना श्रेष्ठ रहेका छन्। सदस्य श्रेष्ठ डा पुकारकी श्रीमति हुन्।
गैरनाफामूलक सामाजिक संस्थाका रूपमा फाउन्डेसन सन् २०१० मा स्थापना भएको थियो।