चितवन– चीनको हबे प्रोभिन्सका स्वास्थ्य विभागअन्तर्गत विज्ञान, प्रविधि,शिक्षा तथा अन्तर्राष्ट्रिय समन्वय आयोगका निर्देशक झाउ झी सान सिसाले बिपी कोइराला मेमोरियल अस्पताल भरतपुरलाई समयअनुसार थप स्तर वृद्धि गर्ने बताएका छन्।
अस्पतालको स्थल निरीक्षणका लागि चीनबाट भरतपुर आएका निर्देशक झाउले आफूले हाल अस्पतालको सेवामा धेरै परिर्वतनसँगै गुणस्तरलाई ध्यान दिएको भन्दै चीन सरकारले नै स्थापना गरेको अस्पताललाई समयअनुसार प्रविधिमैत्री बनाउन थप सहयोग गर्ने बताएका हुन्।
'यो अस्पताललाई चीन सरकारले विशेष महत्वका साथ हेरेको छ, सदा यसको विकासबारे हामी चिन्तित छौँ,' उनले भने, 'हामीले हाम्रो टिममार्फत पनि धेरै कुरा थाहा पाएका छौँ' अब थप सहयोग आउनेछ।'
उनले नेपाललाई सवस्थ्य सेवासम्बन्धी सहयोग गर्न चिनियाँ सरकारले हबे प्रोभिन्सलाई तोकेको भन्दै यसमार्फत सहयोग गर्न आफू तत्पर रहेको स्पष्ट पारे। सो अवसरमा उनले चीन सरकारले दिएको विभिन्न उपकरणहरुसँगै अस्पतालको स्थलगत निरीक्षण गरेका थिए।
यस्तै अवसरमा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा निर्मल लामिछानेले अस्पतालको स्थापनादेखि हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए। उनले समयअनुसार अस्पतालको भौतिक संरचना, मेसिन उपकरण, नयाँ सेवा विस्तारमा चिनियाँ सरकारले थप सहयोग गर्न माग गरेका थिए।
कार्यक्रममा अस्पतालका वरिष्ठ कानुन अधिकृत गोकर्ण सापकोटा, बाल रोग विभाग प्रमुख डा कृष्णसागर शर्मा, वरिष्ठ प्रशासकीय अधिकृत जेएन महतो, वरिष्ठ लेखा अधिकृत पित्ताम्बर आचार्य लगायतका विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो।