रोल्पा– देश संघीय संरचनामा गएपछि प्रदेश ५ को दुर्गम जिल्ला रोल्पास्थित परिवर्तन गाउँपालिकाले स्थानीय स्वास्थ्य तथा व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ।
स्वास्थ्य मन्त्रालय र राष्ट्रिय तालिम केन्द्र, स्थानीय स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धिकरण निर्देशिका २०७५ अनुसार पदाधिकारीहरुका लागि तालिम सञ्चालन गरिएको हो।
स्वास्थ्य सेवालाई स्थानीय विकासको मुद्दा बनाउने, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने र जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नका लागि तालिमको आयोजना गरिएको गाउँपलिका उपाध्यक्ष हितकुमारी बुढा मगरले बताइन्। तालिम चैत १८ देखि २० गतेसम्म सञ्चालन गरिएको थियो।
तालिममा स्वास्थ्य र विकास, आधारभूत स्वास्थ्य सेवा र मौलिक हक, तथ्यमा आधारित स्वास्थ्य योजना तर्जुमा, स्वास्थ्यमा स्थानीय र प्रदेश सरकारको कार्यक्षेत्र र अधिकार, प्रेषण व्यवस्थापन, स्रोत व्यवस्थापन, स्वास्थ्य सेवामा लैंगिक समानता र सामाजिक समावेशीकरण, सुशासन लगायतका विषय समावेश गरिएको थियो।
तीन दिने तालिमको सहजीकरण परामर्शदाता दिपेन्द्र चौधरी, रेडक्रसका पालिका एडभाइजर बसन्त थापा र स्वास्थ्य कार्यालय रोल्पाका फोकल पर्सन अधिकृत लालबहादुर ठाकुरले गरेका थिए।