काठमाडौं– नेपाल आयुर्वेद चिकित्सक संघले सरकारी चिकित्सक संघ (गोदान) ले सञ्चालन गर्दैआएको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ। संघले माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।
आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले विज्ञप्ति जारी गर्दै गोदानको आन्दोलनमा ऐक्यवद्धता जनाउने र माग पूरा नभए कडा आन्दोलनमा उत्रने बताएका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय संरचनाअनुसार चिकित्सकहरुको समायोजन सूची प्रकाशित गरेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख गरेको छ।
'यस संघका मागहरुप्रति बेवास्ता गर्दै सहमतिविपरीत चिकित्सकहरुलाई अवैज्ञानिक तरिकाले बृत्ति विकासमा असर पर्नेगरी तथा हतोत्साही बनाउनेगरी गरिएको समायोजन मान्य हुने छैन,' विज्ञप्तिमा भनिएको छ, 'सरकारी चिकित्सक संघ, नेपालले सञ्चालन गर्दैआएको आन्दोलनका कार्यक्रममा सहयोग र समर्थन गर्दै थप कडा कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुनेछौं।'