कैलाली– कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सुदूरपश्चिम प्रदेशका चिकित्सकहरु आन्दोलित भएका छन्।
शुक्रबारबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने कार्यक्रम भए पनि यस प्रदेशमा आंशिक रुपमा आकस्मिक सेवा ठप्प पारिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित भएपछि नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले जनाएको छ।
चिकित्सक संघका प्रदेश अध्यक्ष डाक्टर प्रमोद जोशीले भने, ‘अस्पतालमा धेरै टाढाबाट उपचारका लागि सेवाग्राहीहरु आएकाले हामीले आंशिक रुपमा बन्द गरेका छौं। आइतबारबाट पूर्ण रुपमा ठप्प गरिने छ।’
संघले डाक्टरको दरबन्दी संघअन्तर्गत राख्दै आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको छ। माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने बताएका छन्।
सुदूरमा डाक्टर अभाव हुने
संघीय सरकारले कर्मचारी समायोजनको सूची सार्वजनिक गरेपछि यस प्रदेशमा पूर्ण चिकित्सक अभाव हुने देखिएको छ।
सुदूरपश्चिभरि रहेका सरकारी अस्पतालमा अब दुई जना मात्रै सरकारी डाक्टर रहने भएका छन्। संघीय सरकारमा रहेको साविकको उपक्षेत्रीय अस्पताल र अहिले डडेल्धुरा अस्पताल बाहेक अन्य सबै अस्पतालमा अब दुई जना डाक्टर मात्रै सरकारी डाक्टर रहने भएका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेकोमा सुदूरपश्चिम प्रदेशमा २ जना डाक्टरको मात्रै समायोजन भएको छ।
सेती अञ्चल अस्पतालमा कार्यरत दसौं तहका डाक्टर खगेन्द्र भट्ट र नवौं तहका डाक्टर जगदीश जोशीको मात्रै सुदूरपश्चिम प्रदेशमा समायोजन भएको छ भने उनीहरुको पनि कुन अस्पतालमा समायोजन हुन टुङगो लागेको छैन।
मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य सेवा अन्तर्गत ८, ९ र १०औं तहको सूची सार्वजनिक गरेकोमा सुदूरपश्चिमभरि रहेका सरकारी डाक्टरमा २ जना बाहेक सबैको संघीय सरकारमा समायोजन भएको छ।
संघीय सरकार अन्तरगत सुदूरपश्चिममा एउटा मात्रै डडेल्धुरा अस्पताललाई राखिएकाले सुदूरपश्चिमका अन्य अस्पताल भने डाक्टरविहीन हुने भएका छन्। अन्य २ वटा अञ्चल सेती र महाकाली, ६ जिल्ला र अन्य ४ वटा जिल्ला स्तरीय अस्पताल गरी १२ वटा अस्पताल भने प्रदेश सरकारको मातहतमा रहेका छन्।
१२ वटा अस्पतालमा दुई जना मात्रै सरकारी डाक्टर समायोजन हुने भएकाले बढीमा २ अस्पतालले मात्रै सरकारी डाक्टर पाउने देखिएको सरकारी डाक्टर संघ गोदानका सुदूरपश्चिम प्रतिनिधि डाक्टर कपिल गौतमले बताए। सुदूरपश्चिमभरि रहेका अस्पतालमा अहिले विकास समिति पनि नहुँदा अस्पतालहरु धरासायी हुने चिन्ता बढेको छ।