काठमाडौं– एचआइभी/एड्स संक्रमित ५६ वर्षीय पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेका छन्। आगामी शुक्रबार आफू सगरमाथातिर प्रस्थान गर्ने उनले जानकारी दिएका छन्।
एचआईभी/एड्स संक्रमितहरुले पनि राष्ट्र र समाजका लागि योगदान गर्न सक्षम छन् भन्ने सन्देश विश्वलाई दिने उद्देश्यका साथ आफूले सगरमाथा आरोहण गर्न थालेको श्रेष्ठले बताए।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले अवसर पाए एचआइभी/एड्स संक्रमितहरुले पनि केही गरेर देखाउन सक्ने उनले बताए। श्रेष्ठ सन् २०१५ मा सगरमाथा आरोहण अभियान सुरु गरे पनि सफल भएका थिएनन्।
श्रेष्ठले साहस गरेकाले उनलाई सगरमाथा आरोहणको लागि साथ दिइएको आरोहण अभियानका संयोजक विष्णुबहादुर भट्टराईले जानकारी दिए। आरोहणका लागि ४३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको र त्यसका लागि ३० लाख रुपैयाँ संकलन भइसकेको छ।
आरोहण अभियानले एचआइभी/एड्स संक्रमित श्रेष्ठलाई सगरमाथा आरोहणका लागि सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ।