काठमाडौं– आयुर्वेदसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन एवं कार्यशाला गोष्ठी धुलिखेलमा सम्पन्न भएको छ।
विश्व आयुर्वेद परिषद्, पतंजली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर र आयुष दर्पन भारतको संयुक्त आयोजनामा सम्मेलन भएको थियो।
चैत २२ र २३ गते भएको सम्मेलनमा विभिन्न कार्यपत्र तथा मर्मविज्ञान सम्बन्धी तालिम समेत भएको थियो।
विश्वव्यापी रुपमा महत्व बढ्दै गएको मर्म चिकित्सा शरीरमा विभिन्न दुखाइ, स्ट्रोक पुनःस्थापना, शिरोरोग एवं फ्रोजन सोल्डर लगायत विभिन्न रोगमा उपयोगी रहेको बताइन्छ।
कार्यक्रममा मर्मसम्बन्धी विषयमा भएको सम्मेलनमा देशविदेशका मर्म–विज्ञ, अनुसन्धानकर्ता, आयुर्वेद, योग, प्राकृतिकका चिकित्सक र विद्यार्थीहरुको सहभागिता रहेको सहभागी भएको कार्यक्रम आयोजक समितिका सदस्य सचिव डा कोपिला अधिकारीले बताइन्।
आयोजक समितिका डा सुमन खनालले मर्म चिकित्सासम्बन्धी ज्ञान एवं सिप अभिवृद्धिका लागि सम्मेलन आयोजना गरिएको बताए।
सम्मेलनको उद्घाटन सत्रमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले नेपालको आयुर्वेदको विकासका लागि स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रदेशमा केन्द्रीय आयुर्वेद अस्पताल र सबै नगरमा आयुर्वेद केन्द्रको स्थापना गर्ने योजना रहेको बताए।