काठमाडौं– ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउन्डेसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ। चैत ३० गते काठमाडौंको धुम्बाराहीस्थित एसआर पार्टी प्यालेसमा करिब ३ सय जनाले एकसाथ रक्तदान गर्ने तयारी भएको घुन्सा फाउन्डेसनकी अध्यक्ष याङजोम शेर्पाले जानकारी दिइन्।
संकलित रगत बालकोट, टिचिङलगायत ब्लड बैंकलाई डोनेसन गरिने उनले बताइन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा नयाँ वर्ष २०७६ को अवसर पारी वृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको शेर्पाले बताइन्।
कार्यक्रममा संस्थाको सदस्यता वितरण, क्यालेन्डर वितरण पनि हुनेछ। विशिष्ठ संरक्षक, संरक्षक, आजीवन, सदस्य, साधारण सदस्य गरेर पहिलो चरणमा एक हजारको हाराहारीमा सदस्यता वितरण गर्न लागिएको पनि शेर्पाले जानकारी दिइन्।