जुम्ला– विशेषज्ञसहितको चिकित्सकको टोलीले जुम्लाको सिजा क्षेत्रमा पुगेर स्थानीयबासीको उपचार गरेको छ। गाउँमै विशेषज्ञ चिकित्सकबाट उपचार गराउन पाउँदा स्थानीय दंग थिए।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव र विशेषज्ञ स्वास्थ्य उपचार सेवा नहुँदा स्थानीयबासी रोग पालेर बस्न बाध्य थिए। गाउँमै विशेषज्ञ सेवा पाएपछि स्थानीयबासी लाभान्वित भएका छन्।
सिजा गाउँपालिका– ३ की जलुका नेपाली विशेषज्ञ स्वास्थ्य सेवाले ग्रामीण क्षेत्रका बिरामीलाई सहयोग पुगेको बताउँछिन्। ‘छाती दुख्थ्यो, भिटामिनजन्य पदार्थको अभाव जस्तो लाग्थ्यो। गाउँमा प्रभावकारी उपचार सेवा नहुँदा सदरमुकाम खलंगामा पुग्न सकेको थिइनँ,’ उनले भनिन्, ‘गाउँमै विशेषज्ञ चिकित्सकको टोली पुग्दा चेकजाँच गराएँ। चिकित्सकको राय बमोजिम औषधि सेवन गरिरहेको छु।’
स्वास्थ्य शिविरमा आँखा र दाँत अन्य सबै रोगको उपचार गरिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोग, सिजा गाउँपालिकाको व्यवस्थापन र थाहा फाउन्डेशन नेपालको आयोजनामा दुई दिनसम्म शिविर सञ्चालन भएको थियो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका विशेषज्ञ चिकित्सक डा. कमल शर्माको नेतृत्वको टोली सिजा क्षेत्रमा विशेषज्ञ सेवा दिन गएको थियो। नेपाल स्वास्थ्यकर्मी महासंघ नेपालका महासचिव दलबहादुर जिसीको पहलमा भएको स्वास्थ्य सेवा निकै प्रभावकारी भएको स्थानीय बताउँछन्।
दुई दिनमा झण्डै १ हजार विभिन्न रोगका बिरामीले स्वास्थ्य सेवा लिएका थिए।