काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाजुरा र अछाममा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
बाजुरामा जिल्ला अस्पतालमा २० गतेदेखि २४ गते सम्म सञ्चालन गरिएको शिविरमा २ हजार ५ सय ३४ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो भने ५० वटा शल्यक्रिया सम्पन्न गरिएको थियो। त्यसका साथै एक्सरे १ सय ४६, ल्याबको सेवा २ सय ११ र भिडियो एक्सरे २ सय ४२ वटा गरिएको छ। साथै शिविरमा दन्त सेवा पनि दिइएकोमा १ सय २३ जनाको दाँत उखेलेर उपचार गर्नुका साथै ८० जनामा फ्लोराइड लगाइएको छ।
उक्त टोलीले अछाम जिल्लाको विनायकमा पनि तीन दिने शिविर गरेको छ। सो शिविर १६ गतेदेखि १८ गतेसम्म चलेको थियो। अछाममा १ हजार ८ सय ६३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ भने ५४ वटा अप्रेसन शल्यक्रिया गरिएको छ। त्यसैगरी भिडियो एक्सरे ९१ वटा, दाँत उखेलेको १ सय ५ र ५० जनामा दाँतमा फ्लोराइड लगाएको छ।
शिविरमा हाड जोर्नी तथा नसारोग, बाल रोग, स्त्री रोग, मेडिसिन तथा सर्जरी, मनोचिकित्सा, दन्त सेवा, फिजियोथेरापी, एक्सरे, भिडियो–एक्सरे, ल्याबसेवा, एनेस्थेसिया सेवा आदि सेवाहरु शिविरमा दिइएको थियो।
शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकाया, डा मार्निक न्यौपाने, डा सन्दीप श्रेष्ठ, डा सञ्जीव पण्डित, डा भूमेश काफ्ले लगायत विशेषज्ञ चिकित्सले बिरामीको उपचार गरेका थिए।