पोखरा– स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराले ''स्वास्थ्य बिमा अन्तरक्रिया'' कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा स्वस्थ नेपाल निर्माणका लागि स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउन नागरिक र सरोकारवालाहरुले साझा दायित्वको रुपमा ग्रहण गर्नुपर्ने कुरामा जोड दिइएको छ.
तेस्रो स्वास्थ्य बिमा कार्यक्रमका अवसरमा प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले नागरिकलाई स्वास्थ्य सेवा प्रदायक अस्पतालहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताइन्। उनले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रदेश सरकार, स्थानीय तह, पत्रकार, नागरिक समाज र जनताका बीचमा सहकार्य गरी प्रभावकारी रुपमा आगाडि बढाउनुपर्नेमा जोड दिइन्।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेशप्रसाद अधिकारीले स्वास्थ्य बिमालाई सफल कार्यान्वयनको दिशामा आगाडि बढाउनुको विकल्प नभएको बताए।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमान्चल क्षेत्रीय अस्पताल) का निर्देशक डा अर्जुन आचार्यले स्वास्थ्य बिमा कार्यक्रमबाट धेरै नागरिक लाभान्वित भएको र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सेवा प्रदायक अस्पतालमा प्रयाप्त मात्रामा जनशक्ति, भौतिक पूर्वाधार र औजार उपकरणको व्यवस्था राज्यले गर्नुपर्ने औल्याएका थिए।