काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रप्रसाद यादवले नेपालमा आधिकारिक र तथ्यपूर्ण अनुसन्धान आवश्यक भएको बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले राजधानीमा आयोजना गरेको जनसंख्या तथा स्वास्थ्य वैज्ञानिकहरुको पाँचौ शिखर सम्मेलन उद्घाटन गर्दै राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा धेरै अनुसन्धान हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘आधारिक र तथ्यपूर्ण अनुसन्धान भएमा नीति, योजना र कार्यक्रम बनाउन सहज हुन्छ, गाउँगाउँसम्मका जनतालाई सेवाको पहुँचमा ल्याउने लक्ष्य पूरा गर्न सकिन्छ।’
उनले स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुसन्धानका लागि सरकारको पूर्णसहयोग रहने बताए।
स्वास्थ्य सचिव डा पुष्पा चौधरी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झालगायतले स्वास्थ्य अनुसन्धानको आवश्यकताबारे बोलेका थिए।
‘संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ नारा दिइएको सम्मलेन भोलि शुक्रबारसम्म चल्नेछ।
सम्मेलनमा स्वास्थ्यका विविधि विषयमा १ सय ३७ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने छ। जसमध्ये ३३ वटाको मौखिक प्रस्तुतीकरण र १ सय ४ वटाको पोस्टर प्रस्तुतीकरण भइरहेको परिषद्ले जनाएको छ।
स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बिमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य सम्वद्र्धन, प्रविधि र आवश्यक मेडिकल उत्पादन जस्ता विषयमा अनुसन्धानात्मक प्रस्तुति भइरहेका छन्।
सम्मेलनमा प्रस्तुत गरिएका मध्येबाट ७ वटा विधामा उत्कृष्ट वैज्ञानिकलाई सम्मानित गरिने परिषद्ले जनाएको छ। सम्मेलनमा एक हजार व्यक्तिले सहभागिता जनाएका छन्।