तनहुुँ - तनहुँको भानु नगरपालिका–८ वसन्तपुरकी रामकुमारी थापाकाे उमेर अहिले ७० वर्ष पुग्याे।२० वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित रहेकी उनले समस्याका बारेमा घरपरिवारलाई कहिल्यै बताइनन्। सामाजले के भन्ला भन्ने डरले पीडा सहेर रोग लुकाउन बाध्य भएको उनी बताउँछिन्।
भानु नगरपालिका–८ नं वडा कार्यालयले बिहीबार र शुक्रबार आयोजना गरेको स्वास्थ्य शिविरमा परीक्षणका लागि आएकी उनी भन्छिन् , 'सामाजिक विभेद्को डरले पीडा सहेर रोग लुकाउन बाध्य भएँ। अब त कति सहनु भनेर जचाउन आएँ।' वसन्तपुरकै कृष्णा जिसीलाई पनि १० वर्षदेखि पाठेघर खस्ने समस्या छ । डर र लाजकै कारण अहिलेसम्म उपचार नगराएकी उनले स्वास्थ्य शिविरमा महिला डाक्टरसँग आफ्नो समस्या खुलेर राखिन्।
त्यसैगरी परीक्षणका लागि आएकी भगवती लौडारी पाँच वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित छिन्। उपचार गराउने चाहना भए पनि समस्याको बारेमा अरुलाई बताउने साहस नआएपछि रोग लुकाएरै बसेको उनले बताइन्।
स्वास्थ्य शिविरमा परीक्षणका लागि आएकामध्ये ६० वर्ष उमेर कटेका महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। शिविरमा सेवामा खटिएकी डा अनुपमा मगरले पाठेघरकाे समस्या देखा परेका अधिकांश महिलामध्य ९ जनाको समस्या गम्भीर अवस्थामा रहेको बताइन्। उनका अनुसार उमेर, शारीरिक अवस्था, जाँच तथा उपचारका लागि ढिलाइ गरिएको कारण उनीहरुको शल्यक्रिया समेत गर्न नसकिने अवस्था छ।
तनहुँ जिल्लामा विशेषगरी ६० वर्ष उमेर पुगेका महिलामा पाठेघर खस्ने समस्या दिन प्रतिदिन बढ्दो अवस्थामा देखिएको छ । आफूभित्रको यस्तो समस्या बाहिर ल्याए परिवार र समाजबाट समेत हेला हुने डरले अधिकांश महिलाले रोग लुकाउने गरेको डा मगरकाे भनाइ छ। विशेषगरी उमेर नपुग्दै बच्चा जन्माएका, गर्भवती भएको बेलामा गरुङ्गो भारी बोकेका र सुरक्षित सुत्केरी नगराएका महिलामा यस्तो समस्याको सम्भावना बढी देखिएको चिकित्सक बताउँछन्।
शिविरमा सामान्य समस्या भेटिएका केहीलाई भने सामान्य उपचारसहित रिङ राखेर पठाइएको थियो। नियमित स्वास्थ्य सेवाको पहुँचसम्म नपुगेका ग्रामीण भेगका महिलालाई सहज तरिकाले स्वास्थ्य सेवा उपलब्ध गराउन बृहत स्वास्थ्य शिविर आयोजना गरिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए।शिविर ठूलो रोग तथा समस्याको उपचार भन्दा पनि समस्या पहिचानको निम्ति लाभदायक भएको उहाँको भनाइ छ।
‘दयाका हात’ नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा भएको सो स्वास्थ्य शिविरमा एक हजार पाँच सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा मुटुरोग, हाडजोर्नी, स्त्री रोग, आँखासम्बन्धी समस्या तथा बालरोगको परीक्षण समेत गरिएको छ। स्वास्थ्य शिविरबाट धेरैजनाले प्रत्यक्ष लाभ प्राप्त गरेकाले आगामी दिनमा पनि यस किसिमको कार्यक्रम सञ्चालन गरिने प्रमुख गौलीले बताए।