कान पाक्ने समस्या वयस्कको दाँजोमा बालबालिकामा बढी देखिन्छ। बालबालिकाको भित्री घाँटीको माथिल्लो भाग र कानको मध्य भाग जोड्ने नली छोटो, सिधा र फराकिलो हुने हुनाले रुघाखोकी तथा श्वासनलीसम्बन्धी समस्याले संक्रमण गराउँछ।
बालबालिकामा नाक बन्द हुँदा, नाकभित्र र घाँटीको माथिल्लो भागमा मासु पलाउँदा र रुघाखोकी तथा पिनास हुँदा कान पाक्नसक्छ। त्यसमाथि नवजात शिशुलाई आमाले सुतेरै दूध खुवाँउदा सक्र्यो वा बच्चाले उल्टी गरेको दूध कानमा पर्यो भने पनि कान पाक्ने सम्भावना हुन्छ।
कानको मध्य भागमा संक्रमण हुँदा कान बन्द हुने, नसुन्ने, कान कराउने, दुख्ने भई ज्वरोसमेत आउने गर्छ। मध्य कानको काम शारीरिक सन्तुलन ठिक राख्ने हुनाले कान पाक्ने समस्या हुँदा शारीरिक असन्तुलन हुने तथा रिङ्गटा लाग्ने पनि हुन्छ।
कानको जाली फुटेर पिप बाहिर निस्क्यो भने दुखाइ अलि कम हुन्छ। त्यस्तो हुँदा विस्तारै भित्री कान र टाउकोको हड्डी तथा मस्तिष्कको झिल्लीसम्मलाई असर गर्नसक्छ। यस्तो हुँदा मस्तिष्कमा पिप भरिने डर पनि हुन्छ। कान पाक्ने समस्या जीर्ण प्रकारको भई लामो समयसम्म रहनसक्छ। अतः कानको समस्यालाई हेलचेक्रयाँई गर्नुहुँदैन।
कानको बाह्य भागमा संक्रमण हुनसक्छ। यस्तो बेला कानको लोती चलाउँदा वा थिच्दा अत्याधिक पीडा हुन्छ भने कानको बाह्य भागमा बालतोड जस्तै रातो हुने, सानो खटिरा आउन सक्छ। कान पाक्ने समस्या गराउने किटाणुहरु एच इन्फुएन्जा, न्युमोकोकस, स्टाफाइलोकोकस अरियस आदि हुन्।
कान पाक्ने समस्याबाट प्रभावित हुनसक्ने बालबालिकालाई नुहाइदिँदा कानमा कपास राखिदिने गर्नुपर्छ। रुघाखोकी वा श्वास प्रणालीको संक्रमण हुँदा तुरुन्तै उपचार गराउनुपर्छ। कान चिलायो भनेर कहिल्यै पनि प्वाँख, सिन्का, कानकुट्टीले कान कोट्याउनु हुँदैन।