त्यतिबेला चितवनका धेरै दिदीबहिनी एसएलसी पास हुनासाथ नर्सिङ पढ्थे। मलाई पनि सानैदेखि नर्स बन्ने रहर थियो। स्कुल जाँदा बाटोमा नर्सहरु हिँडेको देख्दा टाढा पुगुन्जेलसम्म हेरिरहन्थेँ। सोच्थेँ– म पनि ठूलो भएपछि नर्स बन्छु।
घरमा कोही बिरामी हुँदा पनि सेतो टोपी र सेतै साडी लगाएका नर्सले सेवा गरेको देख्दा नर्सले नै बिरामीलाई बिसेक पार्दा रहेछन् जस्तो लाग्थ्यो। सात कक्षामा पढ्दादेखि नै कहिले एसएलसी पास हुँला र नर्स बनुँला भन्ने हुटहुटी हुन्थ्यो।
एसएलसी पास हुनेबित्तिकै आमाबुबासँग नर्सिङ पढाउन अनुरोध गरेँ। उहाँहरुले पनि खुसी हुँदै नर्सिङ पढ्न काठमाडौं पठाउनुभयो। आमाबुबाले कुनै रोकतोक नगरे पनि आफ्न्तहरु भने मैले नर्सिङ पढ्न थालेपछि कुरा काट्ने गर्थे। कतिले त ‘कुन जुनीको पाप पखाल्न नर्स बन्दै छे’ भन्नेसम्मका कुरा गरे।
मलाई भने जसरी भए पनि सेता लुगा लगाएर बिरामीको सेवा गर्ने नर्स बन्नु थियो। मलाई कसैको कुराले छोएन। आफ्नै ढंगले पढाइमा लागेँ। मैले पिसिएल नर्सिङ काठमाडौं मोडल नर्सिङ कलेजबाट र बिएन एसियन नर्सिङ कलेजबाट गरेँ।
पिसिएल पढ्ने बेलामा दोस्रो वर्षमा अस्पतालमा अभ्यास गर्नुपथ्र्यो। रहरले नर्स पढे पनि बिरामीहरु सेवा गर्दा सुसरुसुरुमा घिन पनि लाग्थ्यो तर काम गर्दै जाँदा भने बिरामीको सेवामै रमाइलो लाग्न थाल्यो।
नर्सिङ पास हुनासाथ नेपाल आँखा अस्पतालमा काम गर्ने मौका मिल्यो। मैले आँखा अस्पतालमा नर्स भएर काम गर्न थालेको २५ वर्षभन्दा लामो समय भयो। जनरल अस्पतालमा काम गर्ने मेरो इच्छा थियो। त्यसैले तीन÷चार वर्ष जनरल अस्पतालमा पनि काम गरेँ।
जनरल अस्पतालमा नर्स भएर काम गर्न सजिलो छैन। बिरामीको चाप हुने हुँदा दिनरात नभनी खट्नुपर्छ। जनरल अस्पतालमा जटिल खालका बिरामी जाने हुँदा बिरामीको सम्पूर्ण काम नर्सले नै गरिदिनुपर्छ। आँखामा अस्पतालका नर्सले भने धेरै दुःख गर्नु पर्दैन।
बिरामीलाई समान व्यवहार गर्नुपर्छ
नर्सको सेवा नै कर्म हो। त्यसैले अस्पतालमा आएका बिरामीलाई समान व्यवहार गर्न सक्नुपर्छ। नर्सले यो धनी बिरामी हो, यसलाई राम्रो सेवा दिन्छु, यो गरिब बिरामी हो, जस्तो सेवा दिए पनि हुन्छ भन्ने भावना कहिले पनि राख्नु हुँदैन। बिरामी र उनका आफन्तहरुसँग नम्र भएर कुरा गर्नुपर्छ कुनै बेला कामको चाप भएर रिस उठ्नसक्छ, त्यो बेलामा कसैलाई गाली गर्नुभन्दा नबोली बस्यो भने जितिन्छ। मिठो बोलीले बिरामीको रोग पनि छिटो निको हुन्छ जस्तो लाग्छ।
आँखामा सबैभन्दा चुनौतीको वार्ड ओटी वार्ड हो। त्यसैले ओटीमा काम गर्ने नर्सहरु धेरै नै चनाखो हुनुपर्छ। आँखा संवेदनशील अंग हो। नर्सको सानो गल्तीले बिरामीको आँखाको ज्योति गुम्नसक्छ। त्यसैले ओटी नर्सले सरसफाइमा ध्यान दिनुपर्छ। अनुशासित हुनु जरुरी छ। छिटो समस्याको समाधान गर्न सक्नुपर्छ। शल्यक्रिया गर्दा विभिन्न खालका चुनौती आउन सक्छन्। त्यसैले तयारी अवस्थामा बस्नुपर्छ।
सबै बिरामी उस्तै हुँदैनन्। कुनै बिरामी यस्ता पनि हुन्छन्, शल्यक्रिया गर्न ओटी रुममा नजाउन्जेलसम्म सबै ठिक हुन्छ, ओटी रुममा पस्नासाथ डरले बेहोस् हुन्छन्। कुनै बिरामीको प्रेसर घटेर तल पुग्छ, कुनैकुनै बिरामी सुगर घटेर बेहोस हुने गर्छन्। यस्तो बेलामा ओटी नर्सले ध्यान दिनुपर्छ, उनीहरुलाई पहिले नै सम्झाउनुपर्छ।
बिर्सन नसकेका घटना
अहिले डाक्टरहरु २४ घन्टा ड्युटीमा बस्छन् तर त्यो बेलाको समय फरक थियो। त्यतिबेला डाक्टरहरु अनकल ड्युटीमा बस्थे। इमर्जेन्सी केस आयो भने अस्पताबाट गाडी लिएर लिन जानुपथ्र्यो।
त्यो रात मेरो नाइट ड्युटी थियो। राति १२ बजेतिर एक जना बिरामी लिएर ६÷७ जना मान्छे आए। उनीहरुले रक्सी खाएका थिए। अस्पताल छिर्नेबित्तिकै ठूलो स्वरले ‘डाक्टर खै’ भन्दै कराउन थाले। हामीले ‘एकछिन बस्नुस्, डाक्टर आउनुहुन्छ’ सम्झायौँ तर उनीहरुले कुरै सुनेनन्। हामीले फोन गर्न लाग्दा डाक्टर त अस्पतालमै बस्नुपर्छ भन्दै फोनको तार चुँडालेर फालिदिए। गार्ड दाइलाई बोलायौँ, उहाँलाई पनि धकेलिदिए। सबै सामान भुइँमा छरिदिए। हामी डराइरहेका थियौं, कुट्लान भनेर रातभरि खाली चौरमा बसेका थियौँ। पछि डाक्टर आउनुभयो र बिरामीको आँखाको उपचार गरिदिनुभयो। उनीहरु रातभरि अस्पतालमा बसे तर भोलिपल्ट त अघिल्लो रातिको सबै कुरा बिर्सिएछन्। यस्ता थुप्रै घटना हुन्थे। त्यो बेलामा रक्सी खाएका मान्छे आएर खुब दुःख दिन्थे।
अर्को एउटा घटना पनि अहिलेसम्म याद छ। एक जना व्यक्तिले आँखाको शल्यक्रिया गर्न सानो बिरामी ल्याएका थिए। शल्यक्रिया गर्न काठमाडौं बस्दाबस्दै उनको घरबाट ल्याएको पैसा सकिएछ। त्यो बेलामा अहिले जस्तो एटिएम र आइएमईको चलन थिएन। बिरामी डिस्चार्ज भएर पनि घर गएनन्, अस्पतालमै बसिराखे। मैले के भयो किन घर नगएको भनेर सोधेँ। धेरै बेरपछि उनी पैसा सकिएर घर जान नपाएकोले सहयोगको याचना गर्दै रुन थाले। हामी अस्पतालका स्टाफहरु मिलेर उनलाई घर जाने टिकट काटिदियौँ र बाटोमा खाने पैसा पनि दियौँ। उनी खुसी हुँदै घर गए।
प्रस्तुतिः सिर्जना खत्री