आज मे १२, अर्थात् विश्व नर्सिङ दिवस।
नर्सिङ एउटा यस्तो पेसा हो, जहाँ नर्सहरू आफू मैनझैं पग्लिएर बिरामीलाई उज्यालो दिन्छन्।
आजको दिन नर्सिङ क्षेत्रकी महान हस्ती फ्लोरेन्स नाइटिङ्गेल ‘लेडी विथ ल्याप’को सम्झनामा विश्वभरका नर्सले विभिन्न कार्यक्रम गरी दिवस मनाउँछन्।
र, नेपालमा पनि आजको दिन सम्पूर्ण नर्सले विभिन्न कार्यक्रम गरी मनाउँछन्।
तर, यहाँको सन्दर्भमा हेर्ने हो भने नर्सिङ दिवस नाम मात्रैको छ। नर्सहरू अपहेलित छन्।
आफू हाँसेर बिरामीलाई खुसी पार्ने नर्सका भित्री दुःखहरू छन्।
यहाँ एकजना नर्सले डिउटीका समयमा ३० देखि ४० जना बिरामी हेर्नुपर्छ।
बिरामीको सेवामा अहोरात्र खट्ने नर्सहरूको आफ्नो समय हुँदैन। अनि खानाको कुनै तालिका हुँदैन। बिरामीको ‘डाइट चार्ट’ बनाउनुपर्छ। आफू ग्यास्ट्रिकले सिकिस्त हुँदासमेत बिरामीलाई समय समयमा खुवाउनुपर्छ।
अञ्जानमा सानो गल्ती त हुन्छ। तर, गाली भने ठूलै व्यहोर्नुपर्छ।
समयमा नआँउदा बिरामी पक्षको प्रहार नर्समाथि नै हुन्छ। अनि रिपोर्ट नआउँदा र औषधि दिन केहीमात्र ढिला हुँदा पनि गालीको सामना गर्नुपर्छ।
बाहिरबाट हेर्दा त आकर्षित र सजिलो देखीन्छ यो पेसा। तर, जिम्मेवारी बहन गर्न एकदम कठिन छ।
‘आँसु लुकाएर, भोको पेट सुकाएर हाँस्नुपर्ने कस्तो पेसा हो?’ बेला बेला प्रश्नहरू उब्जन्छन्।
लाखौं खर्चिएर अभिभावकले सन्तानलाई नर्सिङ पढाउँछन्। अध्ययनका लागि उस्तै साह्रो मेहेनत चाहिन्छ। जब पढिसकेर जागिरका लागि हस्पिटल गइन्छ, ४÷५ महिना त स्वयंसेवक नै रहनुपर्ने। त्यसपछि मात्र तलब हुन्छ। तर, त्यो तलब कसरी तलब हुनसक्छ? तलबको नाममा चरम शोषण छ।
यो पेसाले भाडा तिर्ने, खाने कि बा आमाको ऋण तिर्ने?
कामको अत्यधिक चाप, न्यून तलब। यसकै कारण नर्सहरूलाई ‘बर्न आउट सिन्ड्रोम’ अर्थात् आफ्नै पेसादेखि फ्रस्टेसन हुनथाल्छ। अनि डिप्रेसनको गोली खानुपर्छ।
जो अरुलाई मानसिक स्वास्थ्यको लागि ज्ञान दिन्छन्, उनीहरू नै मानसिक रुपमा अस्वस्थ हुन्छन्।
यो कस्तो बिडम्बना?
वर्षेनी हजारांै नर्स विदेसिने गरेका छन्। आर्थिक अवस्था नाजुक भएकाहरू विदेसिनु पर्ने बाध्यता छ।
सधैं मासिक ५ हजारको तलब खाएर कहिलेसम्म खट्न सक्छन् नर्सहरू?
नर्स अधिकारका निम्ति लड्न भनेर विभिन्न संघ संस्था खोलिएका छन्। तर, खै कसले के गर्यो?
हालसालै भक्तपुरस्थित मानव अंग प्रत्यारोेपण केन्द्रका नर्सहरूले आफ्नो अधिकारको लागि न्याय माग्न जाँदा प्रहरी हिरासतमा रहनुपर्यो।
के यसैको लागि हामीले नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेललाई भोट गरी जिताएका थियौं?
बजारमा ठूला ठूला हस्पिटल भनी प्रचारप्रसार हुन्छ। भित्र भने नर्सहरूलाई दमन शोषण कहिलेसम्म हो?
एक महिनाअघि मात्र जनकपुर अस्पतालमा एकजना नर्सको हत्या गरियो। खै त न्याय?
सरकार किन मौन छ?
नर्सहरूबीच एकता र आफ्नो अधिकारका लागि एकधार हुनुपर्ने तत्कालको आवश्यकता छ।
हामी हाम्रो निम्ति एकबद्ध हुँदैनौं भने कसले उठाउँछ हाम्रो छरिएको आवाज? कसले खोतल्छ हाम्रो भित्री पीडा।
हामीले हामीभित्रै पनि सिनियर र जुनियरको नाममा विभेद भोग्नुपरेको छ।
अब पेसामा सिनियर वा जुनियर नभनी अधिकारका लागि आवाज उठाऔं। पीडामा नबसौं। फ्रस्टेसनबाट बचौंं।