काठमाडौं— बच्चाको क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि ‘एल एस्पारागिनेस’ को अभाव भएको छ।
कान्ति अस्पतालमा करिब एक महिनादेखि सो औषधि अभाव भएपछि उपचारत करिब ७० जना क्यान्सरका बिरामी बालबालिका प्रभावित भएका छन्। उपचार सुरु भएको आठ महिनासम्म यो औषधि आवश्यक पर्ने चिकित्सकको भनाइ छ।
बच्चालाई हुने ब्लड (रगत) क्यान्सरमध्ये सबै भन्दा धेरै हुने ‘एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया’ क्यान्सरको उपचारमा यो औषधि प्रयोग हुने गर्छ।
कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा विष्णुरथ गिरिले सो औषधि बिना क्यान्सरको उपचार सम्भव नहुने बताए।
उनले भने, ‘औषधि अभाव भएको महिना दिन भयो, सप्लायर्सले समयमै औषधि उपलब्ध नगराएकाले उपचार प्रभावित भएको छ।’
औषधिको अभावमा बच्चाको उपचार रोकिने भएपछि अभिभावकको चिन्ता बढेको छ।
कान्ति अस्पतालमै उपलब्ध हुने औषधि नपाइएपछि अन्यत्र अस्पतालमा ‘एल एस्पारागिनेस’ औषधिको खोजीमा अभिभावक विभिन्न फार्मेसी तथा औषधि पाइने स्थानहरुमा धाइरहेका छन्।
ब्लड क्यान्सर भएर ४ वर्षे छोराको उपचारमा ‘एल एस्पारागिनेस’ नपाएर छटपटाएका भक्तपुरका गोविन्द शर्माले एक महिनादेखि औषधि नपाएको बताए।
उनले भने, ‘अस्पतालको फार्मेसीमा औषधि हप्ता दिनमा आउँछ भनेको महिनादिन बढी भयो, एक महिनादेखि औषधि छैन। निकै समस्या भएको छ।’
सामान्यतया, एक दिन बिराएर ४ पटक सम्म दिनुपर्ने डाक्टर गिरिले बताए। उनका अनुसार बच्चाको जोखिम हेरी करिब २० पटक सम्म यो औषधि प्रयोग गर्नुपर्ने हुन्छ।
समयतालिका अनुसार दिनुपर्ने यो औषधिले बिरामीलाई निको पारी ५०, ६० वर्षको थप आयु बढाउन महत्वपूर्ण हुने उनको भनाइ छ।
कान्ति बालअस्पतालका फार्मेसी प्रमुख सुजन नेपालले पनि औषधि अभावले समस्या भएको बताए। उनले भने, ‘औषधि नपाए समस्या भएको छ, दुई कम्पनिको मात्र औषधि आउने भएकाले कान्तिमा मात्र होइन देशभर अहिले औषधि अभाव भएको छ, अर्को समस्या यसको वैकल्पिक उपाय पनि छैन।’
उनले एक सातामा भारतबाट औषधि आउने अनौपचारिक जानकारी पाएको बताए।
कान्ति अस्पतालले औषधि अभावबारे औषधि व्यवस्था विभागलाई समेत पत्र पठाइसकेको छ। भने केही व्यक्तिले भारतीय बजारबाट कम परिमाणको औषधि ल्याएर पनि उपचार गराइएको बताइएको छ।
तर, यसरी ल्याउदा पनि जोखिम हुने नेपालले बताए। उनले भने, ‘यो औषधि निश्चित तापक्रममा राख्नुपर्ने हुन्छ, २ देखि ६ डिग्री तापक्रममा राख्नुपर्ने औषधि ल्याउन समस्या हुन्छ।’
नेपालमा यो औषधि डिकेएम फर्मास्युटिकल्स र मिसिल फर्माले आयात गर्ने बताइएको छ।