नर्स यमुना बस्नेत राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छिन्। आफ्नो सेवा अवधिमा नर्सिङ पेसामा सेवा गर्दा भोगेको भोगाई उनले स्वास्थ्यखबरकी सिर्जना खत्रीसँग यसरी सुनाइन् :
मलाई सानैदेखि गणित विषयमा रुचि थियो। त्यसैले एसएसी पास गरेपछि गणित विषय लिएर पढ्ने निँधो गरेँ। तर, मेरो दाइको इच्छा भने बहिनीलाई जसरी पनि नर्स बनाउनुपर्छ भन्ने थियो। गणित विषयमा आइए पास गरेपछि दाइकै इच्छाअनुसार नेपालगञ्ज नर्सिङ कलेजमा पिसिएल पढ्न थालेको हुँ मैले। नर्सिङ पढ्न थालेपछि गणित विषयलाई निरन्तरता दिन सकिनँ।
पिसिएल पास गरेपछि सरकारी कोटामा नाम निस्कियो र प्युठान जिल्ला अस्पतालमा पोस्टिङ भयो, जुन निकै दुर्गम क्षेत्रमा थियो। मैले प्युठान जिल्ला अस्पतालमा ११ वर्ष काम गरेँ।
भर्खर स्थापना भएको १५ बेडको अस्पताल थियो त्यो। सुविधा सम्पन्नको त कुरै छोडौं, सामान्य सामानहरु पनि उपलब्ध थिएनन् सो अस्पतालमा। अस्पतालमा एक जना त्यहीँका सुपरभाइजर हुनुहुन्थ्यो। उहाँ प्रशासनको काममा बाहिर गइरहनुपथ्र्यो। उहाँ हिँड्नेवित्तिकै बिरामीको उपचारको एक जना प्यारामेडिक्स एकजना र मेरो काँधमा आइपथ्र्यो।
भर्खर नर्सिङ पास गरेर गएको मलाई गाइड गर्ने कोही थिएनन्। सबै काम आफैंले गर्नुपर्ने बाध्यता थियो। भर्खर खोलेको अस्पताल भएकोले सुविधा केही थिएनन्। त्यसैले काम गर्न सुरुसुरुमा निकै गाह्रो भयो। पछि विस्तारै बिरामीको चाप बढ्दै गयो र सेवा–सुविधा पनि थपिँदै गयो।
जिल्ला अस्पतालमा गर्भवतीहरु सेवा लिन बढी आउँथे। शल्यक्रिया गर्नुपर्ने गर्भवतीलाई बुटवल र नेपालगञ्ज पठाउनुपर्ने बाध्यता थियो।
अस्पतालमा एउटा मात्र एम्बुलेन्स थियो, त्यो पनि कहिले कहाँ, कहिले कहाँ, भनेको बेलामा एम्बुलेन्स पाउनै गाह्रो। एम्बुलेन्स अभावमा कतिपय महिलाको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु हुन्थ्यो। महिनामा २० वटाजति यस्ता केस आउँथे, ४÷५ जनाको सिओसिस गर्नुपर्ने अवस्था हुन्थ्यो। यस्तो अवस्था देखेपछि मलाई टे«निङ लिनुपर्छ भन्ने लाग्यो।
एक जना दिदीले पहिले ट्रेनिङ लिनुभएको थियो। उहाँले मलाई ट्रेनिङ दिने डाक्टरकहाँ लगिदिनुभयो। मैले सिओसिसको ट्रेनिङ लिएपछि हामी तीन जनाले अस्पतालमा सिओसिस सर्भिस सञ्चालन ग¥यौँ। रातिमा पालैपालो ड्युटी गथ्र्यौँ। अपरेसनलाई चाहिने सबै सामान आफैंले तयार गर्नुपथ्र्यो।
पहिलो पटक सेवा सुरु गरेकोले सुरुमा निकै गाह्रो भयो तर विस्तारै नयाँ स्टाफलाई पनि सिकाउँदै गयौं र काम सहज बन्दै गयो। प्रायः गाउँका मान्छे सुत्केरी सेवा लिन हाम्रै अस्पतालमा आउँथे।
जिल्लामा काम गर्दागर्दै टर्सरी अस्पतालमा सरुवा भयो। राष्ट्रिय ट्रमा सेन्टरको हाडजोर्नी विभाग, जुन मेरा लागि नयाँ थियो। पिसिएल र ब्याचलर पढ्ने बेलामा १५ दिनमात्र यो विभागको बारेमा पढ्ने र काम गर्ने मौका मिलेको थियो। त्योभन्दा अरु कुनै ज्ञान थिएन। तर सोचेजस्तो गाह्रो रहेनछ यो वार्ड।
भुल्न नसकेको त्यो घटना
हामीले प्युठान जिल्ला अस्पतालमा सिओसिस सेवा सुरु गरिसकेका थियौँ। गाउँका प्रायः मानिस जिल्ला अस्पतालमा नै आउँथे। एक जना दिदीले तीन वटा बच्चा जन्माएको घटना मलाई अहिले पनि याद छ। मेरो बिहानको ड्युटी थियो। ती दिदीले घरमा एउटा बच्चालाई जन्म दिनुभएछ र ‘मेरो पेटमा अर्को पनि बच्चा छ’ भन्दै अस्पताल आउनुभएको रहेछ।
उहाँ भन्दै हुनुहुन्थ्यो, ‘हिजो बेलुका घरमा एउटा बच्चा जन्मियो, पेटमा अर्को बच्चा पनि छ। त्यसैले अस्पतालमा आएको।’ हामीले उहाँलाई लेबर रुमा लग्यौं। उहाँ भन्न थाल्नु भयो, ‘मेरा पहिल्यै पाँच वटी छोरी छन्। हिजो पनि छोरी नै जन्मिएकाले अब ६ वटी भए, मेरो पेटमा भएको बच्चा छोरा हुनसक्छ।’
केही बेरमै उहाँले अर्की छोरी जन्माउनुभयो। एउटा बच्चा जन्मिसकेपछि मलाई उहाँको पेटमा अर्को पनि बच्चा छ जस्तो लाग्यो। केही बेरमै तेस्रो सन्तान जन्मियो, छोराको रुपमा। उहाँका सात छोरी र एक छोरा भए। हामीले धेरै बेरसम्म तेस्रो सन्तान के जन्मियो भनेर उहाँलाई भनेनौँ।
दुई घन्टापछि हामीले तेस्रो सन्तान छोरा भएको बतायौँ। त्यतिबेला उहाँ निकै खुसी हुनुभएको थियो। कमजोर आर्थिक अवस्थाका कारण ८ वटा सन्तान कसरी पाल्ने भन्ने चिन्ता त थियो तर छोरा जन्मिएको खुसीले उहाँको अनुहारमा दुःखको छाया रत्तिभर देखिँदैनथ्यो।
उहाँलाई देख्दा लाग्थ्यो धनसम्पत्ति केही रहेनछ, सबैभन्दा ठूलो धन त आत्मसन्तुिष्ट पो रहेछ। ती दिदी पछिसम्म पनि तीन जना बच्चा लिएर अस्पताल आउनुहुन्थ्यो। उहाँलाई देख्दा धेरै खुसी लाग्थ्यो।
बिरामी घर फर्कंदाको खुसी
लामो अस्पताल बसाइपछि सन्चो भएर घर फर्कन पाउँदा खुसी नहुने को नै होला र ? खासगरी हातखुट्टा, मेरुदन्ड भाँचिएका, कलेजोमा चोट लागेका बिरामी लामो समयसम्म अस्पताल बस्नुपर्ने हुन्छ। सुरुमा जटिल खालका हाडजोर्नीका बिरामी पनि लामो समय अस्पताल बसेर उपचार गराएपछि निको भएर घर फर्कन्छन्। लामो समयपछि घर जान पाउँदा उनीहरु धेरै खुसी हुन्छन्। उनीहरु खुसी भएको देख्दा हामी नर्सहरुको पनि खुसीको सिमा रहँदैन।
जिल्ला अस्पतालमा समस्यै समस्या
नर्सले २४ घन्टा बिरमीसँग बस्नुपर्ने भएकाले जस्तोसुकै परिस्थितिको पनि सामान गर्नुपर्ने हुन्छ। कुनै बेला बिरामीको मृत्यु हुँदा चिकित्सकहरु नजिक हुँदैनन्। त्यस्तो अवस्थामा नर्सले नै बिरामीका आफन्तलाई सम्झाउने बुझाउने गर्नुपर्छ। कतिपय मृतकका आफन्तले गालीसमेत गर्छन्। टर्सरी अस्पतालमा भन्दा जिल्ला अस्पतालमा यस्ता समस्या बढी भोग्नुपर्छ।
जिल्ला अस्पतालहरुमा सबै काम नर्सले नै गर्नुपर्ने हुन्छ। बिरामीका आफन्त यस्ता समेत हुन्छन्, अन्तिम अवस्थाको बिरामी ल्याएर मारे मार्नुस्, बचाए पनि बचाउनुस्, तपार्इंको जिम्मा भनेर छोडेर जान्छन्। पछि केही भयो भने फलानो सिस्टरले राम्रोसँग नहेरेर मेरो बिरामी यस्तो भयो भनेर दोष दिने गर्छन्। यस्तो बेलामा भने निकै दुःख लाग्छ।