काठमाडौं– करोडौं मूल्यका मेसिन–उपकरण खरिद गर्ने र छोटै समयमा बिग्रियो भन्दै थन्क्याउने सरकारी अस्पतालको पुरानै रोग हो।
एउटा मात्र होइन, हरेक दिन नभई नहुने चार–चार वटा मेसिन थन्क्याएर उपचार गर्न आएका बिरामीलाई अन्यत्रै पठाउनु त झन् अस्पतालको चरम गैरजिम्मेवारी नै हो।
यस्तै गैरजिम्मेवारीको नमुना बनेको छ, राष्ट्रिय ट्रमा सेन्टर। ट्रमा सेन्टरले करोडौं मूल्य बराबरका मेसिन अस्पतालमा त्यत्तिकै थन्क्याएको छ। अस्पतालका चल्दाचल्दैका मेसिन बिग्रिएर महिनौंदेखि प्रयोगविहिन भएका छन्।
आकस्मिक एक्सरे मेसिन, भेन्टिलेटर मेसिन, सिटी स्क्यान मेसिन र इन्ट्रा अपरेटिभ मेसिनले काम गरेका छैनन्। त्यसैगरी भारतले दुई वर्षअघि दिएको इन्डोरेडिलोजी सम्बन्धी काम गर्ने डिएचओ मेसिन ल्याएर सञ्चालन नै नगरी त्यत्तिकै राखिएको छ।
ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवले यी मेसिनले काम नगरेको स्वीकार गरे। उनले भने, ‘हो यी मेसिनबाट सेवा दिन सकिएको छैन, सिटी मेसिन भने अबको १० दिनभित्र सञ्चालनमा आउँछ। तर अन्य मेसिनको मर्मतसम्भार गर्न बजेट अभाव छ।’
ट्रमा सेन्टरमा दैनिक पाँच सयभन्दा बढी बिरामीले ओपिडी सेवा लिन्छन्। त्यसमध्ये ३० जना बढीलाई सिटी स्क्यान गर्नुपर्ने र बाहिरका बिरामी पनि सिटी स्क्यानका लागि आउने गरेको निर्देशक यादव बताउँछन्।
ट्रमा सेन्टरले त्यसबाहेक हरेक दिन ५० भन्दा बढी एमआरआई गर्नुपर्ने बिरामी बाहिर रेफर गर्छ।
अस्पतालमा उपचार सस्तो हुन्छ भनेर आउने बिरामीले एमआरआई सेवा नहुँदा बाहिर महँगो मूल्यमा एमआरआई गराउनुपर्ने अवस्था छ।
निर्देशक यादवले एमआरआई मेसिन खरिदका लागि पहल भइरहेको बताए। भारत सरकारले अनुदानमा दिएको सिटी स्क्यान मेसिन समयमै मर्मत नहुँदा बिरामी अन्यत्र जान बाध्य छन्।
८ महिनाअघि नै बिग्रिएको भनिएको राष्ट्रिय ट्रमा सेन्टरमा रहेको उक्त सिटी स्क्यान मेसिन बन्ने अन्तिम अवस्थामा छ।
अर्को इन्ट्रा अपरेटिभ मेसिन न्युरोको सिटी स्क्यान मेसिन हो। सो मेसिनले बे्रन क्यान्सरको उपचारमा सहयोग पुर्याउँछ। जसले ब्रेनमा क्यान्सरको शल्यक्रिया गर्दागर्दै क्यान्सर बाँकी छ कि छैन भनेर हेर्न मिल्छ।
‘ब्रेनको अप्रेसन एक पटक गरेपछि तुरुन्तै खोल्न मिल्दैन, समय लाग्छ। त्यसैले शल्यक्रिया गर्दागर्दै क्यान्सर बाँकी छ कि छैन भनेर हेर्न मिल्छ यो मेसिनले,’ यादवले जानकारी दिए।
सरकारले ७० प्रतिशत रकम दिएको तर ३० प्रतिशत रकम दाखिला नभएपछि त्यसको मुद्दा अदालतमा चलिरहेको छ। सो मुद्दामा आदेश नआएको र अन्य डकुमेन्ट नभएकोले पेश गर्न समस्या भएको अस्पतालको भनाइ छ।
यो मेसिन सञ्चालनको लागि सबै शल्यक्रिया गर्ने कक्षका ढोकामा लिड राख्नुपर्ने र त्यसका लागि पनि करिब ३५ लाखसम्म आवश्यक पर्ने बताइन्छ। आगामी आर्थिक वर्षमा यो मेसिन सञ्चालनमा आउने ट्रमा सेन्टरको दावी छ। निर्देशक यादवले २१ देखि २४ करोड मूल्यको सो मेसिन नचल्दा बिरामीलाई सेवा दिन नसकेको बताए।
भारतले दिएको डिएचओ मेसिन सञ्चालन गर्न आवश्यक तयारीका लागि दुई करोड चाहिने भएको चलाइएको छैन। मन्त्रालयलाई अनुरोध गरेको तर बजेट नदिएपछि चलाउन नसकेको ट्रमा सेन्टरको भनाइ छ। यो मेसिन सबै ठाउँमा छैन। अहिलेसम्म गंगालाल हृदय केन्द्रमा मात्र यो मेसिन भएको बताइन्छ।
ट्रमा सेन्टरमा इमर्जेन्सीको एक्सरे मेसिन बिग्रेको पनि लामो समय भयो। निर्देशक यादवले आफूले सस्तो मूल्यमा मेसिन बनाउन लगाएको दावी समेत गरे। उनले भने, ‘दुर्भाग्य के भयो भने यो मेसिन बनाएर भोलिदेखि चलाउने भनेर सरसफाइ पनि गरिएको थियो तर कोही व्यक्तिले बद्मासी गरी मेसिनको आइपी एड्रेस नै उडाइदिएछ, त्यो किन्न धेरै खर्च हुने रहेछ। त्यसका लागि पनि ३० देखि ३५ लाख रुपैयाँ लाग्ने रहेछ,’ उनले भने।
अस्पतालमा बिग्रेका उपकरण बनाउन, नयाँ उपकरण सञ्चालन गर्न र सप्लायरलाई पुरानो पैसा तिर्न स्वास्थ्य मन्त्रालयसँग २१ लाख रुपैयाँ थप माग गरेको निर्देशक यादवले बताए।
उता वीर अस्पतालको दुई वटामध्ये एउटा सिटी स्क्यान मेसिन प्रयोगमा छैन। करोडौं मूल्य पर्ने मेसिन बिग्रेकाले मर्मत गर्दा उत्तिकै महँगो पर्ने हुँदा समय लागेको अस्पतालका निर्देशक केदार सेन्चुरीले बताए।