भूपी शेरचनको 'यो हल्लै हल्लाको देश हो' कविता यो लेखसँग सान्दर्भिक हुन आउँछ। अहिले काठमाडौँ खाल्डोमा 'सिरिन्ज फोबिया' व्यापक छ। जहाँ पनि यसैको चर्चा सुनिन्छ। अझ भनौं सिरिन्जको हल्ला जताजतै सुनिन्छ।
कसैले कसैलाई चिसिक्क छोए वा अरु कुनै वस्तुले छोए मात्र पनि सिरिन्जले नै घोचेको होकि भन्ने मनोत्रासका कारण अस्पतालमा परामर्श लिन आउनेको संख्या अहिलेसम्म पनि छ। यो कहिलेसम्म रहला? यो पंक्तिकारलाई पनि थाहा त छैन तर 'सिरिन्ज फोबिया' मानिसहरुको मनबाट निकाल्ने कोसिस भएन भने अवश्य पनि छिटै रोकिने छाँट देखिंदैन।
एक जना बीस वर्षीया महिला केही तिखो चिजले चिसिक्क गरेजस्तो लाग्यो भनेर परामर्श लिन आउनुभएको थियो। उहाँको घोचेको भनिएको पाखुरामा हेर्दा त्यहाँ कुनै घोचेको खत थिएन। तर पनि उहाँको अनुरोधमा धेरैबेर खतको खोजी गर्नु परेको थियो।
उहाँको भनाइअनुसार अगाडि पछाडि कोही थिएन र कसैको हातमा सिरिन्ज लिएको देखिएको पनि थिएन। अन्त्यमा अति गर्मी हुँदा छाला संवेदनशील भएकोले पहिलेपहिले पनि चिसिक्क हुने गरेको कुरा खोल्नु भयो।
त्यस्तै एक वयस्क आफू कतै जग्गा खरिदबिक्रीको लागि जाँदा आफ्नै मोटरसाइकलको पछाडि बस्नेले चिसिक्क घोचेको जस्तो लाग्यो भनी परामर्श लिन आउनुभएको थियो र घोचेको ठाउँ देखाउन लगाउँदा ढाड पछाडि डन्डिफोर देखाउनु भयो। आफूले सिरिन्जको बारेमा धेरै सुनेकोले डर लगेर परामर्श लिन आएको उहाँको भनाइ थियो।
यी त प्रतिनिधि पात्र मात्र हुन्। यो पंक्तिकारसँगको अन्तर्क्रियामा परामर्श लिन आउनेहरुले घरपरिवार वा साथी–संगीहरुमाझ सिरिन्ज आक्रमणसम्बन्धी बढी कुराकानी हुने गरेको, बाहिर हिंड्दा बढी संवेदनशील हुने गरेको र शरीरमा कसैले छोए मात्र पनि सिरिन्ज आक्रमणको होकि भनेर मनोत्रास उत्पन्न हुने गरेकोले अस्पताल आउनुपरेको बताउने गरेका छन्। जुन अस्वभाविक भने होइन।
किला घोच्ने अपराधीलाई सार्वजनिक गरेपछि डल्लु स्वयम्भू इलाकातिर यस्ता घटना त देखिंदैन, तर यहाँको 'सिरिन्ज फोबिया' बनेपा सरेको प्रष्टै देखिन्छ। तर जति जनाले परामर्श लिन आउनुभयो उहाँहरु सबैमा सिरिन्जले नै घोचेको खत भने देखिएको थिएन। जसलाई हामी मनको बाघले खाएको भनेर भन्छौं। व्यक्तिगत रुपमा उहाँहरुसँग बसेर धेरै लामो समय परामर्श दिने गरेको छु, जसमा अधिकांश सन्तुष्ट भएर जानु भएको छ।
यति चाहिँ भन्न सकिन्छ, कोही कसैले सिरिन्जले नै घोचेर दु:ख दिने भए पनि बाटो, हुलमुल, सार्वजनिक सवारी साधन वा स्थानहरुमा त्यो पनि दिनदहाडै किन गर्थ्यो? जबकि अहिलेको माहोलमा कसैले कसैको हातमा सिरिन्ज देखिए मात्र पनि त्यो व्यक्तिमाथि तुरुन्त हमला हुनसक्ने सम्भावना हुन्छ। अपराधीले त्यस्तो जोखिम लिन्छ जस्तो मलाई लाग्दैन। हाल जति पनि परामर्श लिन आउनेहरु छन् ती सबै सार्वजनिक स्थल र दिनमै भएका घटनाहरु हुन्।
स्मरण रहोस्, डल्लुमा भएका घटना सबै राति/अँध्यारोमा भएका थिए। राति अबेर हिड्नै पर्ने अवस्थामा हुनेहरुले भने सतर्कता अपनाउनु बुद्धिमानी हुन्छ। अन्तमा, खुसीको कुरा डल्लुमा भएका घटनाका पीडितमध्ये एक जनामा घटना भएको चार महिनापछि गरेको रगत जाँचमा कुनै पनि सरुवा रोग देखिएन।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)