प्राडा राजेन्द्र कोजु काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका डिन हुन्। मुटु रोग विशेषज्ञ डा कोजुलाई गायनमा रुचि छ। स्वास्थ्यखबरको जीवनशैलीमा यसपटक बुनु थारुले डा कोजुसँग गीतसंगीतबारे गरेको छोटो कुराकानी:
म पेसाले चिकित्सक भए पनि गीतसंगीतमा रुचि राख्ने व्यक्ति हुँ। गीत गुनगुनाउन निकै मन पर्छ।
मेरो छोरो अहिले १२ कक्षामा पढ्दैछ। उसले संगीत कक्षा पनि लिने गरेको छ। उसको स्वर राम्रो छ। मिठो गाउँछ। गितार पनि बजाउँछ। उसको अगाडि त मेरो स्वर केही पनि होइन।
मलाई अहिलेका भन्दा पनि पुराना पुस्ताको गीतहरु बढी मन पर्छ। स्वरसम्राट नारायण गोपालको फ्यान हुँ। उनको सबै गीत मन पर्छन्। त्यसैगरी तारादेवी, नातिकाजीका गीत मन पर्छन्। तिनै गीत गुनगुनाउने गरेको छु।
मैले युट्युबमा गीतहरु पनि अपलोड गरेको छु। पोहोर साल खुसी फाट्दा, तिमीले त होइन, राजमति आदि गीत गाएको छु। छोराले गितार बजाउने अनि मैले गाउने गरेका छौं। जमघट तथा समारोहमा गाउँछु। विशेषगरी शनिबार बिदाको दिन गाएर आनन्द लिन्छु। साथीभाइसँग पनि गाउँछु।
छोराको लागि भनेर मैले गीत पनि लेखेको छु। आफ्ना लागि पनि लेखेको छु। मेरो इच्छा चाहिँ भविष्यमा छोरासँग युगल गीत गाउने रहेको ।