काठमाडौं- नर्स र केयरगिभरका लागि जापान जाने कामदारको भाषा परीक्षा आगामी कात्तिक ११ र १२ गते हुने टुंगो लागेको छ।
केही समयअघि नेपाल र जापानका प्राविधिक टोलीबीच समझदारी भएअनुसार नेपाली कामदार जापान पठाउने सम्बन्धमा प्रक्रियालगायतका विषयमा छलफल भएको थियो। सोही छलफलका आधारमा भाषा परीक्षा र सिप परीक्षणको मिति टुंगो लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले नेपाल लाइभलाई जानकारी दिए।
सहसचिव ढुंगानाका अनुसार भाषा परीक्षामा पास भएका कामदारको सिप परीक्षण पनि कात्तिक १९ र २० गते गरिने भएको छ। भाषासँगै सिप परीक्षणमा सहभागि भई उत्तीर्ण भएका कामदारहरु रोजगारीका लागि जापान जान पाउने छन्।
समझदारीमा पारित मस्यौदा अनुसार कामदारले जापानी भाषा बोल्न र लेख्न सक्ने एन-४ तहको भाषा पास गर्नुपर्ने उल्लेख छ। सहसचिव उमेश ढुंगानाका अनुसार कामदारले एकपटक जापानी भाषा परीक्षा पास गरेपछि सो परीक्षाको मान्यता १० वर्षसम्म हुन्छ।
‘नेपाली कामदार छनोट तथा भर्ना प्रक्रियाका लागि जापाने प्रो-म्याट्रिक कम्पनीलाई जिम्मा दिने बताएको छ, भाषा परीक्षा र सिप परीक्षणका लागि जापानबाट नै टोली आउँछन्,’ सहसचिव ढुंगानाले भने।
भाषा परीक्षा र सिप परीक्षण कम्प्युटरका माध्यमबाटै लिइने मन्त्रालयले उल्लेख गरेको छ। भाषा परीक्षा र सिप परीक्षणको नतिजा सामेल भएको केही बेरमै परीक्षार्थीहरुले प्राप्त गर्ने छन्।
नर्स बाहेकका कामदार पनि केयरगिभरमा
जापानी भाषा परीक्षा र सिप परीक्षण दुवैमा उत्तीर्ण भएका नर्स बाहेकका कामदार पनि केयरगिभरका लागि जापान जान पाउने सहसचिव ढुंगानाले बताए।
‘दक्ष नर्सलाई पहिलो चरणमा प्राथमिकतामा राखिएको छ, केयरगिभरका लागि जान चाहाने कामदारहरूले पनि सोही अनुसारको भाषा परीक्षा र सिप परीक्षण पास गरेपछि उनीहरु जान पाउँछन्,’ सहसचिव ढुंगाना भन्छन्।
भाषा परीक्षा र सिप परीक्षण जापानकै टोलीबाट हुने सहसचिव ढुंगानाले जानकारी दिए।
भाषा परीक्षा र सिप परीक्षणमा कति शूल्क लाग्छ?
जापान र नेपालका अधिकारीहरूबीच प्रारम्भिक छलफलमा भाषा परीक्षाका लागि २५ सय जापानी येन, सिप परीक्षणका लागि १ हजार येन र नर्सिङ केयरगिभर कामका लागि १ हजार येन गरी ४ हजार ५ सय लाग्ने बताइएको छ।
भाषा परीक्षा र सिप परीक्षणका लागि नेपालका तर्फबाट गर्नुपर्ने सहजीकरणका सम्बन्धमा नेपाल सरकारले जापानलाई प्रश्न पठाएको र त्यसको जवाफ आइनसकेको मन्त्रालयले जनाएको छ।
नेपाली कामदार रोजगारीका लागि जापान जाँदा लाग्ने शूल्कका सम्बन्धमा भने नेपाल र जापानबीच २०७५ फागुन ११ गते अन्तराष्ट्रिय श्रम संगठन आइएलओको मापदण्ड अनुसार कामदार आपूर्तिबारे सहकार्यको समझदारी ( एमओसी) भइसकेको छ।
सोही अनुसार कामदारको सम्पूर्ण लागत शूल्क रोजगारदाताले नै तिर्नुपर्ने व्यवस्था छ।
जापानले ५ वर्षमा ६० हजार नर्स लैजाने
जापानले ५ वर्षको अवधिमा विभिन्न १४ क्षेत्रमा ३ लाख ४० हजार बढी विदेशी कामदार लैजाने नीति अघि सारेको छ। सोही नीति अनुसार नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने उल्लेख गरेको छ।
नेपालबाट मात्रै नर्सिङ क्षेत्रमा कति कामदार लैजाने भन्ने कुरा भने यकिन भइसकेको छैन।
पहिलो चरणमा नर्सिङ केयरमा मात्रै कामदार लैजाने भए पनि त्यसपछि कृषि,उद्योग, पर्यटन, होटल, रेस्टुरेन्टलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजाने बताइएको छ।
जापानले विशिष्टीकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) मध्येबाट पहिलो मा सम्बन्धित काममा दक्षता भएका ( एसएसडब्लुआई) र उच्च तहको सिप भएका (एसएसडब्लु आइआई) कामदार छनोट गर्ने समझदारीमा उल्लेख छ।
यसअघि नेपाली कामदारहरु विभिन्न म्यानपावर तथा कन्सल्टेन्सीमार्फत रोजगारीका लागि जापान जाने गरेका थिए।
जापानमा धेरै जसो युवाहरु कुक र केयरगिभर कामका लागि जाने गरेका छन्। जापानमा नेपाली युवाहरुले मासिक ३ देखि ४ लाख रुपैयाँसम्म कमाई गर्छन्। खाडी मुलुकहरुको विकल्प मुलुक खोज्ने क्रममा सरकारले जापानसँग दुईपक्षीय श्रम समझदारी गरिएको मन्त्रालयले जनाएको छ।