काठमाडौं- आठ वर्षअघि सुरु भएको क्यान्सर भवन निर्माण कार्य अहिलेसम्म किन सम्पन्न भएन?
शिक्षा स्वास्थ्य समितिबाट भवन निर्माण कार्यमा भइरहेको ढिलाइबारे यथार्थ बुझ्न बिहीबार बिहानै त्रिवि शिक्षण अस्पताल पुगेकी सांसद अञ्जना विशंखेले सोधिरहेकी थिइन्। सांसद विशंखे शिक्षण अस्पतालभित्र निर्माणाधीन सुरेश वाग्ले स्मृति केन्द्र भवन निर्माणका विषयमा अध्ययन गर्न संसदीय उपसमिति गठनकी संयोजक हुन्।
८ वर्षदेखि निर्माण पूरा हुन नसकेको उक्त भवनका विषयमा तीन दिन छलफल गरेपछि शिक्षा तथा स्वास्थ्य समितिले सांसद विशंखेको नेतृत्वमा बुधबार उपसमिति गठन गरेको हो।
तीन सदस्यीय समितिमा सांसदहरु इकवाल मियाँ र सरिता न्यौपाने सदस्य छन् । उनीहरुले भवन निर्माणमा ढिलाइ हुनुका सम्पूर्ण सैद्धान्तिक र प्राविधिक कारणहरु अध्ययन सुरु गरिसकेका छन्। समितिले अध्ययन गरेर बनाउने प्रतिवेदनका आधारमा भवन निर्माणमा विलम्ब गर्नेलाई के कारबाही गर्ने, निर्क्यौल हुनेछ। समितिलाई पाँच दिनको समय दिइएको छ।
उनको प्रश्नको ठ्याक्कै चित्तबुझ्दो उत्तर शिक्षण अस्पताल, भवन विभाग वा निर्माण जिम्मा लिएको ठेकेदार कम्पनीसँग थिएन।
सबैसँग आफू अनुकूलका जवाफ त थिए तर भवन निर्माण कार्य अलपत्रबारे आश्वस्त पार्ने जवाफ कसैसँग थिएन।
भवन निर्माण स्थल पुगेर निरीक्षण गरेपछि भएको अन्तरक्रियामा विशंखेले भनिन्, ‘८ वर्ष सामान्य समय होइन। यो समयमा भवन बनेर उपचार सेवा पाई बिरामीले रिलिफको जिन्दगी बिताउन पाउनुपर्ने समयमा यस्तो अलपत्र किन भयो?’
उपसमितिका सदस्य इकवाल मियाँले निर्माण कार्य रोकिनुका कारण कतै आर्थिक लेनदेनको कुरा नमिलेर पो हो कि भनेर घुमाउरो प्रश्न गर्दै निर्माण बाधा पुगेको कारणबारे जान्न खोजे।
अर्की सदस्य सरिता न्यौपानेले भनिन्, ‘शिक्षण अस्पताल परिसरभित्रै एकातिर क्यान्सरको भवन निर्माण ८ वर्षमा पनि पूरा हुन नसकेर अलपत्र छ, सँगै रहेको र पछि निर्माण सुरु भएको मुटुको भवन निर्माण सकिन लागेको छ। यस्तो अवस्था कसरी भयो?’
शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गाले निर्माण भइरहेको समयमा कहिले समय थप नहुने, कहिले भेरिएसनका लागि लामो समय लाग्ने र कहिले ठेकेदार हराउने कारण ढिलाइ भएको स्पष्टीकरण दिए।
भवन निर्माणको जिम्मा पाएको मध्ये एक गौरा कन्ट्रक्सनका सूर्य अधिकारीले सुरुमै ९ करोडमध्ये २ करोड मात्र निकासा पाएको, समयमा रकम निकासा नभएको, भेरिएसन पनि समयमै नथप्दा समस्या भएको बताए।
उनले भने, ‘सरसर्ती हेर्दा सबै दोष ठेकेदारलाई आउँछ तर काम रोकेर हामीलाई घाटै छ। यति लामो समयमा खर्च बढेको बढ्यै छ। हामीले ३ महिना समय मागेका थियौं तर अब यो सम्पन्न गर्न ७/८ महिना लाग्छ।’
सुरेश वाग्ले क्यान्सर भवनको प्रोजेक्ट कोर्डिनेटर रहेका क्यान्सर सर्जन वाइपी सिंह बाधा अड्चनलाई फुकाएर यसअघि नै निर्माण सकिने भए पनि त्यसबारे पहल नभएको बताउँछन्। ‘निर्माण ढिला भएको छ, समय थप त गर्नुपर्यो नि, यसै छोड्न भएन,' उनले भने, 'अन्य आर्थिक लाभ छैन भने के कारणले समय थप्न डर भयो त?’
भवन विभागका वरिष्ठ डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले म्याद थपिएको भए समयमा सक्छौं भनेर लागेको भए पनि म्याद थप नभएपछि निर्माण ढिलाइ भएको बताए।
बुधबार बसेको शिक्षा स्वास्थ्य समितिको बैठकमा अधिकांश सांसदहरुले ढिलाइ गर्ने निर्माण कम्पनी र मिति थप गर्दै जाने सरकारी निकायका पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए।
तीन वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने गरी २०६८ मंसिर २८ गते गौरा कन्ट्रक्सन प्रालि र एटलस इन्जिनियरिङ एन्ड कन्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता भएको थियो। अहिले एटलस भने गायब छ। यसका सञ्चालक म्याद थप र भेरिएसन स्वीकृत नभएपछि भागेर बेलायत गएको अस्पतालका कर्मचारी बताउँछन्।
उपसमिति संयोजक विशंखेले त्रिवि, डिन कार्यालय र ठेकेदार कम्पनीसँग छुट्टछुटै बसेर छलफल गरिने र विस्तृत अध्ययन गरेर मात्र निर्णयमा पुगिने बताइन्।
भवन निर्माणको म्याद थपका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा पुगेको फाइल १७ महिनादेखि थन्किएको छ। त्रिभुवन विश्वविद्यालय र अस्पतालको बेवास्ताका कारण वर्षौंसम्म भवन निर्माण सम्पन्न नभएपछि यो विषय अहिले संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा पुगेको हो।
गत असार १७ गतेको समितिको बैठकमा भवन निर्माणमा भएको ढिलाइबारे त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रार, शिक्षण अस्पतालका निर्देशक लगायतलाई बोलाएर सोधिएको थियो। त्रिविका उपकुलपति तीर्थ खनियाँ आफूले म्याद थप गर्न नसक्ने भन्दै मन्त्रिपरिषद्को बैठकबाट समस्या समाधान गर्न सकिने बताएर पन्छिन खोजेका थिए। उनले भेरिएसन बढी भएको भन्दै म्याद थप गरे आफूलाई अख्तियारले समात्ने भएकोले म्याद थप नगरेको बताएका थिए।
आठतले सो भवन १ सय २० शय्याको हुनेछ। शिक्षण अस्पतालमा क्यान्सरपीडितलाई सस्तो र गुणस्तरीय सेवा प्रदान गर्न, क्यान्सरकै शैक्षिक कार्यक्रम र विशेषज्ञ उत्पादन गर्ने उद्देश्यले सो भवन निर्माण गर्न लागिएको हो। सो भवन शिक्षण अस्पतालका नीति योजना शाखा प्रमुख दीपक तिवारीले त्रिविमा म्याद थप स्वीकृतिका लागि प्रस्ताव गएको तर लामो समय निर्णय नआउँदा समस्या बढेको बताए।
उनले भने, ‘फाइल महिनौंदेखि रोकिएको छ, अब संसदीय समितिमै कुरा पुगिसकेपछि केही निकास त पक्कै आउँछ होला।’
गत माघमै स्वास्थ्य खबरपत्रिकाले भवन निर्माणमा भएको ढिलाइबारे समाचार प्रकाशित गरेको थियो।
भिडियो :
आर्थिक वर्ष ०६५/६६ को बजेट भाषणमा सुरेश वाग्ले क्यान्सर केन्द्र भवन निर्माण गरिने घोषणा गरिएको थियो। ४९ करोड रुपैयाँको लगानीमा निर्माण गरिने भनिएको सो भवन २०६९ मंसिर ६ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले शिलान्यास गरेका थिए।
हालसम्म तीन पटकसम्म म्याद थप भइसक्दा पनि भवनको करिब ७० प्रतिशत मात्र काम भएको छ। तर लागत भने झन्डै ५६ करोड रुपैयाँ पुगिसकेको छ। भवन निर्माणका लागि आएको ७१ करोड रुपैयाँ त्यसै थन्किएको छ।
अस्पतालले निर्माणकर्ताको अनुरोधमा भवन विभागको सिफारिसमा ०७५ जेठ २० गतेसम्म चौथो पटक म्याद थप गर्न त्रिविलाई अनुरोध गरेको हो। यसअघि पहिलो पटक ०७२/०७३ मा दोस्रो पटक र ०७४ मा तेस्रो पटक म्याद थप भएको थियो।
०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी, निर्वाचनका कारणले निर्माण कार्यमा ढिलाइ भएको अस्पतालको भनाइ छ।