हिजोआज देशैभरि डेंगुको चर्चा र त्रास छ। यससँगै डेंगु परीक्षण गर्ने किटको अभाव र मूल्यका बारेमा पनि बेलाबेलामा चर्चा हुने गरेको छ।
डेंगुको संक्रमण भए/नभएको प्रोयागशाला परीक्षणबाट थाहा पाउन सकिन्छ। प्रयोगशालामा गरिने विभिन्न परीक्षणमध्ये किटबाट गरिने परीक्षण सजिलो, छिटो र बिना कुनै औजार–उपकरण गर्न मिल्ने परीक्षण हो। किटबाट परीक्षण गर्दा बिरामीको रगतमा एनएस १, आइजीएम र आइजिजी भए/नभएको हेरिन्छ।
यसमध्ये एनएस १ डेंगु भाइरसबाट निस्किने एन्टिजेन हो भने आइजिएम र आइजिजी हाम्रो शरीरले डेंगु भाइरस विरुद्ध बनाउने एन्टिबडी हो। किटबाट परीक्षण गर्दा अहिले अथवा हालै भएको रोग डेंगु हो/होइन यकिन गर्न एनएस १ र आइजिएमको मुख्य भूमिका हुन्छ।
एनएस १ एन्टिजेन डेंगु भाइरसकै हिस्सा भएकोले भाइरस संक्रमण भएको पहिलो दिनदेखि नै परीक्षणमा एनएस १ पोजिटिभ देख्न थालिन्छ र पाँचदेखि सात दिनसम्म पोजिटिभ हुनसक्छ। सात दिनपछि परीक्षण गराउँदा एनएस १ नेगेटिभ हुँदैमा डेंगुको संक्रमण छैन भन्न मिल्दैन।
डेंगु भाइरसको प्रवेशपछि हाम्रो शरीरले त्यसलाई चिनेर त्यसविरुद्ध विस्तारै पहिला आइजिएम र त्यसपछि आइजिजी बनाउन थाल्छ। संक्रमणको तीन दिन जति पछि ५० प्रतिशत बिरामीमा, पाँच दिनपछि ८० प्रतिशत जति बिरामीमा र १० दिनपछि ९९ प्रतिशत बिरामीमा आइजिएम पोजिटिभ हुन्छ। आइजिएमको मात्रा पहिला विस्तारै बढ्छ। संक्रमणको दुई हप्ता जतिमा सबभन्दा बढी हुन्छ र त्यसपछि घट्दै गई पूरै नेगेटिभ हुन दुईदेखि तीन महिनासम्म लाग्न सक्छ।
आइजिजीको मात्रा आइजिएमसँगै अथवा अलि अघिपछि गरेर बढ्छ। दुईदेखि तीन हप्तासम्म बढ्दै जान्छ र त्यसपछि विस्तारै घट्न थाल्छ। पूरै नेगेटिभ हुन भने ६ महिना अथवा बढी समय लाग्नसक्छ। कुनैकुनै व्यक्तिमा एक चोटीको संक्रमणपछि वर्षौंसम्म पनि आइजिजी पोजिटिभ हुनसक्छ। पहिला संक्रमण भएर निको भइसकेपछि फेरि संक्रमण हुँदा एनएस १ र आइजिजी संक्रमण भएकै दिनदेखि पोजिटिभ देखिन सकिन्छ।
त्यसैले किटबाट परीक्षण गराउँदा डेंगु पोजिटिभ मात्र नभएर एनएस १, आइजिएम र आइजिजीमध्ये कुनकुन पोजिटिभ हो, त्यो थाहा भए मात्र अहिले बिरामी हुने कारण डेंगु हो वा होइन थाहा पाउन सकिन्छ। एनएस १ पोजिटिभ भए अहिले डेंगु छ, एनएस १ नेगटिभ भए पनि आइजिएम पोजिटिभ छ भने बिरामीलाई डेंगु छ अथवा हालसालै भएको थियो भन्ने बुझिन्छ भने आइजिजी मात्रा पोजिटिभ भए त्यो वर्षौं अगाडि भएको डेंगुको कारण पनि हुनसक्छ।
बजारमा विभिन्न कम्पनीका किटहरु उपलब्ध छन्। किटबाट गरिने परीक्षण सजिलो भए पनि सधैं भरपर्दो चाहिं हुँदैन। त्यसैले आवश्यकता अनुसार अन्य जटिल तर बढी भरपर्दो परीक्षणहरु गराउन सकिन्छ। तर डेंगुको उपचार रोगको नभई लक्षणको हुन्छ। डेंगुलाई हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले आफैं परास्त गर्ने र सो प्रक्रियामा बिरामीमा हुनसक्ने लक्षण र जटिलताको लागि मात्र चिकित्सकीय सहयोग चाहिने हुनाले किट या अन्य कुनै परीक्षण तुरुन्तै उपलब्ध भए पनि नभए पनि शंकाकै भरमा डेंगुको उपचार गरे पनि फरक पर्दैन।
(डा झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन्)