हिन्दू नारीको विशेष चाड तीजसँगै दर खाने र ब्रत बस्ने चलन छ। तीज आउनुअघि नै दर खाएर रमाइलो चलन पनि पछिल्लो समय बढ्दै गएको छ। ब्रत बस्नु पनि तीजको अभिन्न अंगजस्तै मानिन्छ। विवाहित महिला ब्रत बसे श्रीमानको दिर्घायु हुने र अविवाहित महिला ब्रत बसे सुयोग्य वर प्राप्त गर्ने धार्मिक मान्यता छ।
स्वस्थ मानिस ब्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक मानिन्छ तर कस्ता महिलाले ब्रत बस्न हुँदैन भन्ने बारे यो आलेखमा संक्षेपमा चर्चा गर्न खोजिएको छ।
आफ्नो शारीरिक अवस्था बुझेर मात्रै ब्रत बस्ने उचित हुन्छ। लामो समयदेखि औषधि सेवन गर्दै आएका शारीरिक रूपमा अशक्त र कमजोर महिलाले ब्रस्त बस्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। प्रायजसो दीर्घरोग भएका महिलाले ब्रत बस्दा समस्या थप बल्झन सक्ने खतरा हुन्छ। विशेषगरी न्यून रक्तचापका बिरामी महिला, मुटुसम्बन्धी समस्या भएका महिला र मृगौलासम्बन्धी समस्या भएका महिलाले पनि ब्रत बस्नु हुँदैन। यस्ता समस्या भएका महिलाहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ब्रत बस्दा स्वास्थ्य अवस्था झन् बिग्रन सक्छ।
यस्ता प्रकृतिका समस्या भएका महिला ब्रत बसे रिंगटा लाग्ने, कमजोरी महसुस हुने, शरीर थाक्ने, मांसपेशी दुख्नेलगायतका समस्या निम्तिन सक्छन्। रोग प्रतिरोधक क्षमता कमजोर भएका महिलालाई स्वस्थ माहिलाका तुलनामा बढी भिटामिन र खनिज तत्त्व आवश्यक हुन्छ। सामान्य मानिसमा पनि पोषक तत्त्व पूर्ति नभए कमजोरीपन महसुस हुन्छ भने दीर्घरोगी महिला खाली पेटमा नाच्दा शारीरिक श्रमका कारण बेहोस हुने संभावना बढी रहन्छ। ब्रत बसे पनि निराहार ब्रत बस्नु धेरैका लागि राम्रो नहुन सक्छ। ब्रत बसेकै बेला पनि फलफूल र पानी खाने गर्नुपर्छ।
रोगी महिला मात्रै नभएर निरोगी महिलाले पनि तीजको ब्रत बस्दा धेरै कुरामा ध्यान दिनुपर्छ। ब्रतको अघिल्लो दिन टन्न दर खाने र अर्को दिन निराहार ब्रत बस्नाले पनि स्वास्थ्यमा समस्या निम्त्याउँछ।
बजारमा पाइने बोलतको पेयपदार्थमा चिनीको मात्रा बढी हुने भएकाले सकेसम्म फलफूलको जुस पिउने गर्नुपर्छ। जुसमा शरीरलाई चाहिने पोषण पाइने भएकाले बजारी पेयपदार्थ विस्थापन गरेर जुसमा जोड दिनुपर्छ।
अघिल्लो दिन चिल्लो तथा बढी र भोलिपल्ट भोकै हुँदा स्वास्थ्यलाई सकारात्मक असर परेको मानिँदैन। अत्यधिक चिल्लो खानेकुराले शरीरमा एसिडिटी बढाउने मात्र नभएर माटोपनको समस्या पनि निम्त्याउँछ। चिल्लो पदार्थले पाचनप्रणालीमा पनि असर गर्छ। यसले खाना अपच हुने, पेटमा भएका राम्रा ब्याक्टेरियाको सन्तुलन बिगार्नेदेखि फुडप्वाइजनसम्मका समस्या निम्त्याउन सक्छ।
तीज धार्मिक आस्थासँग जोडिएको हुँदा मन्दिर जाने र पूजा गर्ने गछौँ, तर सबैभन्दा ठूलो मन्दिर हाम्रो शरीर हो। त्यसकारण पनि बिरामी महिलाहरू, लामो समयदेखि औषधि सेवन गर्ने महिलाले जबसम्म शरीरलाई चाहिने सन्तुलन व्यवस्थापन गर्न सक्दैनन्, तबसम्म शरीरभित्रको ईश्वरलाई खुशी हुँदैनन्। शारीरका देवता खुसी नभई मनकामना पूरा नहुने भएकाले शरीर चाँहि स्वस्थ रहन आवश्यक हुन्छ। त्यसैले पहिले आफ्नो स्वास्थ्य अवस्था बुझेर ब्रत बसौँ।
औसत रुपमा भन्ने हो भने १९ देखि २४ वर्ष उमेर समूहका महिलाहरूलाई एक दिनमा लगभग १५०० देखि २००० सम्मको क्यालोरी आवश्यक हुन्छ। सयुंक्त राज्य अमेरिकाको डिजिज प्रिभेन्सन एन्ड हेल्थ प्रमोसनका अनुसार वयस्क महिलाले दिनमा कम्तीमा पनि १६०० देखि २४०० जति क्यालोरीयुक्त खाना खानुपर्छ भने वयस्क पुरुषले २००० देखि ३००० सम्म क्यालोरी खानुपर्छ। उमेर, लिङ्ग, शरीरको आकार, अवस्था र शरीरिक क्रियाकलापका आधारमा पोषणका साथै क्यालोरीको आवश्यक मात्रा पनि फरक पर्छ।
किशोरावस्थाका महिलाहरूको छिटो वृद्धि र विकासका लागि दिनमा १००० देखि २००० सम्मको क्यालोरी खाने चाहिन्छ। किशोरीहरूमा माहिनावारीको समयमा रगत जाने भएकाले आइरनजस्ता पौष्टिक तत्वको आवश्यक हुन्छ। गर्भवती तथा सुत्केरी अवस्थामा धेरै शक्ति खर्च हुने भएकाले क्याल्सियम, फेलिक र आइरन आवश्यक हुन्छ। तीजको ब्रतमा पनि यी अवस्थाका महिलाले शरीरलाई चाहिने पौष्टिक तत्त्वको पूर्ति गर्नुपर्ने हुन्छ।
हामीले हाम्रो दैनिक जीवनमा सामान्यता गुणस्तरीय आहाराका लागि दैनिक ५० देखि ६० प्रतिशत कार्बोहाइड्रेट खानुपर्छ। त्यस्तै हामीले खाने खानामा १५ देखि २० प्रतिशत प्रोटिन आवश्यक मानिन्छ। त्यस्तै १० देखि २० प्रतिशत चिल्लो पदार्थ चाहिन्छ। सामान्यतया यो अवस्था व्यवस्थापन हुनु नै राम्रो मानिन्छ। तीजमा ब्रत त बसौं तर शरीरभित्रका भगवानको पनि उतिकै पूजा गरौं। तीजको शुभकामना।
प्रस्तुति: बिन्दु शर्मा