काठमाडौं- आइतबार बिहान नयाँ बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर फरार भएको बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ। बस र चालकलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको हो।
महानगरिय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार उक्त बस र चालकका विषयमा अनुसन्धान भइरहेको छ। उनले दुर्घटना भएको क्षेत्रको सिसिटिभी फुटेजका आधारमा उक्त बस र चालकलाई प्रक्राउ गरिएको हो।
‘सिसिटिभी हेरेर हामीले उक्त दिन दुर्घटना गराउने सवारीसाधन त्यही हो भन्ने लागेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘तर चालकले अहिलेसम्म उक्त कुरा स्विकार गरेका छैनन्। सिसिटिभी हेर्दा पैदलयात्रीसँगसँगै उक्त गाडी क्रस भएको देखिन्छ तर मृतक सडक पारि गएको देखिँदैन।’
बिहान मर्निङ वाकमा निस्केका ७२ वर्षिय डा प्रभु जोशीलाई संसद भवनको दक्षिण गेट अगाडि गाडीले ठक्कर दिएर भागेको थियो। ठक्करपछि डा जोशीको त्यही मृत्यु भएको थियो।
डा जोशी एनेस्थोसियोलोजिष्ट ९बेहोस बनाउने० डाक्टर हुन्। डा जोशी हाल इसान अस्पतालमा कार्यरत थिए। त्यसअघि उनले त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा काम गरेका थिए।
डा जोशीले इजिप्टबाट एमबिबिएस, बेलायतबाट एनेस्थेसियामा डिप्लोमा र पछि अस्ट्रेलियाबाट कार्डियाक एनेस्थेसियामा फेलोसिप गरेका थिए।
नेपाल चिकित्सक संघका आजीवन सदस्य डा जोशी सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालका पूर्वअध्यक्षसमेत थिए।