काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गम्भीर तर स्थिर रहेको बताइएको छ
।त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा शल्यक्रियापछि उनको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको। स्वास्थ्य गम्भीर भएपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास)मा राखिएको छ। चिकित्सकका अनुसार इलेक्टिभ भेन्टिलेटरमा राख्नु भनेको उहाँका अन्य अंगहरुले राम्रो काम गरिरहेको तर केही सपोर्ट आवश्यक परेकाले राख्नु पर्ने अवस्था हो।
प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएपछि आज बिहान शल्यक्रिया गरिएको थियो। अत्याधिक पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई बिहान ९ बजे अस्पताल लगिएको थियो। अस्पतालमा आवश्यक परिक्षणका क्रममा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेर शरीरमा संक्रमण भइसकेको थियो। एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिनु भनेको गम्भीर अवस्था हुनु हो।
त्यसपछि चिकित्सकको टोलीले तत्कालै शल्यक्रियासहितको अन्य उपचार प्रक्रिया अगाडि बढाएका हुन्। शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेपनि खतरामुक्त भने भइनसकेको स्रोत बताउँछ। प्रधानमन्त्रीको डा रमेशसिंह भण्डारी, डा पलेस्वाँ लाखे जोशी लगायतको टोलीले शल्यक्रिया गरेका हुन्। शल्यक्रिया झन्डै ४५ मिनेट भएको थियो।
सामान्य अवस्थामा रहेका मानिसमा पनि एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिनु खतरनाक मानिन्छ भने मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा झन् खतरा मानिन्छ।
प्रधानमन्त्रीको शल्यक्रियापछि अस्पतालले जारी गरेको विज्ञप्तिमा पनि सघन उपचारको सम्पूर्ण व्यवस्थासहितको निरन्तर निगरानीमा राखिएको उल्लेख छ। विज्ञप्तिमा प्रधानमन्त्रीको एपेन्डिसाइटिस सहितको पेटको संक्रमण (पेरिटोनिटिस) देखिएपछि तत्काल ल्यापेरोटोमी एन्ड एपेन्डिक्टोमी उपचार गरिएको उल्लेख छ।
प्रेस विज्ञप्तिमा लेखिएको मेडिकल शब्दावली पेरिटोनाइटिस, ल्यापेरोटोमी एन्ड एपेन्डिक्टोमी भनेको के हो?
वरिष्ठ चिकित्सकका अनुसार पेरिटोनाइटिस भनेको पेटभित्र संक्रमण फैलिनु हो। पेटभित्रको अंगलाई दुईवटा पातलो झिल्लीले छोपेर राखेको हुन्छ। मेडिकल भाषामा त्यस्तो झिल्लीलाई पेरिटोनियम भनिन्छ। त्यही झिल्लीहरुमा संक्रमण फैलिनुलाई पेरिटोनाइटिस भनिन्छ। प्रधानमन्त्री ओलीको पनि एपेन्डिसाइटिस फुटेर ती झिल्लीमा संक्रमण फैलिएको हो। यस्तो अवस्था हुनु भनेको सामान्यभन्दा गम्भीर हुनु हो।
एपेन्डिक्स फुटेर संक्रमण फैलिएपछि प्रधानमन्त्रीको पेटमा चिरेर शल्यक्रिया गरिएको छ। शल्यक्रियापछि जारी गरिएको विज्ञप्तमा लेखिएको ल्यापेरोटोमी भनेको पेट चिर्ने कामलाई जनाउने एक वरिष्ठ डाक्टरले जानकारी दिए।
‘ल्यापेरोटोमी गरेको भन्नुको अर्थ प्रधानमन्त्रीको पेट चिरेर पेटमा फैलिएको संक्रमण हटाउने र एपेन्डिसाइटिस फुट्दा आन्द्राहरुमा फैलिएको पिपलगायतका दुषित पदार्थ सफा गरेको भन्ने बुझ्नुपर्छ’ ती डाक्टरले स्वास्थ्यखबरसँग भने।
त्यसपछि विज्ञप्तिमा लेखिएको अर्को शब्द एपेन्डिक्टोमी हो। यो भनेको फुटेको एपेन्डिसाइटिसलाई काटेर फालेको हो।
के हो एपेन्डिसाइटिस?
एपेन्डिसाइटिस एउटा इमर्जेन्सी अवस्था हो। पेट दुखेको २४ घण्टा भित्रै अप्रेशन गरेर एपेन्डिक्स भन्ने अंगलाई पेटबाट काटेर फाल्नुपर्छ।
हाम्रो शरीरमा विकास भएको तर काम नलाग्ने अङ्गका रुपमा रहेको एपेन्डिक्स ५ देखि ७ सेमि जति लामो ट्युव आकारमा हुन्छ। यो दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडिपट्टी रहेको हुन्छ।
एपेन्डिसाइटिस हुनुको प्रमुख कारण एपेन्डिक्सको नलीमा कुनै संक्रमण वा पेटमा रहेका परिजीबी हो। फाइबर नभएको खाना खाँदा, लामो समयसम्म कब्जियत भएपनि यो समस्या आउने गर्छ। यसरी लगातार एपेन्डिक्समा लामो समयसम्म रोकावट आउनाले यो सुन्निएर संक्रमण भइ फुट्ने अवस्थामा आउँछ। यदी यो फुट्यो भने पेट र रगतमा संक्रमण फैलाउने संभावना हुन्छ।
यो रोग नभइ इमर्जेन्सी अवस्था हो। ट्युवमा कुनै संक्रमण भए पश्चात अचानक ग्याँष्ट्रिकका जस्तै लक्षण महशुस हुन्छ। जस्तै वाकवाकी लाग्ने, नाइटोको वरीपरि दुख्न, हल्का ज्वरो आउने, वान्ता हुने। विस्तारै लक्षण बढ्दै गएपछि बेस्सरी पेट दुख्ने तथा पेटको तल्लो दायाँ भागमा दुख्ने क्रम बढदै जाने हुन्छ।
यस्तो भएमा कसैलाई झाडापखाला तथा छिटो–छिटो पिसाब लाग्ने हुन्छ। यी लक्षणहरु अप्रेशन गर्नुभन्दा ७ देखि ८ घण्टा अगाडि देखा पर्छन्। विभिन्न परिक्षणहरु जस्तै रक्त परिक्षण, युरिन टेष्ट तथा अल्ट्रासाउण्डद्वारा एपेन्डिक्स सुन्निएको मात्र हो या फुटिनै सकेको छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ। यी रिपोर्टका आधारमा डाक्टरहरुले अवस्था हेरेर उपचार शुरु गर्छन्।
जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यस्तो हुन सक्छ।
