काठमाडौं- निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग बढी लिएको शुल्क समायोजन गर्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको लामो छलफलपछि निजी मेडिकल कलेजका सञ्चालकहरु शुल्क समायोजन गर्न राजी भएका हुन्।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, विश्वविद्यालया उपकुलपतिहरु, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, शिक्षा मन्त्रालयका सचिव र निजी मेडिकल कलेजका सञ्चालकहरुको छलफलले शुल्क समायोजनका विषयमा २ बुँदे निर्णय गरेको हो।
शिक्षा मन्त्रालयमा छलफल हुनुअघि गृह मन्त्रालयमा भएको अर्को छलफलमा शुल्क फिर्ता नगरे बुधबारबाट पक्राउ गर्ने निर्णय भएको थियो। शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको समयभित्र शुल्क फिर्ता नभएपछि गृहले मेडिकल कलेजलाई पक्राउ गर्ने निर्णय गरेको थियो।
गृहको उक्त निर्णयपछि शिक्षा मन्त्रालयमा साँझबाट पुनः छलफल सुरु भएको थियो। छलफल राती साढे ११ बजेमात्र निर्णयमा पुगेको हो।
केयू अन्तर्गतका निजी मेडिकल कलेजका हकमा विद्यार्थीहरुले विरोध गरेका थिएनन्। केयूले नै तोकेको शुल्क उठाएका कारण यी कलेजका विषयमा विवाद आएको थिएन। तर त्रिवि अन्तर्गतका कलेजमा भने विरोध र आन्दोलन भएको थियो।
.jpg)
