काठमाडौं- नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेको आँखाको लेजर शल्यक्रिया गरिएको छ। उनको तिलगंगा आँखा प्रतिष्ठानमा सोमबार शल्यक्रिया भएको हो।
क्रिकेटर सन्दीपको दृष्टिमा समस्या आएपछि उक्त सर्जरी गर्नु परेको हो। तिलगंगाका रिफ्र्याक्टिभ सर्जन डा शाश्वत ढुंगेलले उनको सर्जरी गरेका हुन्। डा ढुंगेलका अनुसार सन्दीपको आँखामा गरिएको लेजर सर्जरी एकदमै नयाँ पद्धति हो।
यो पद्धतिमा सुख्खापन कम हुने र घाउ छिटो पुरिने हुन्छ। आँखामा माइनस पावर भएको र चश्मा लगाउन नचाहनेका लागि लेजर सर्जरी सेवा एकदमै प्रभावकारी मानिने डा ढुंगलले जानकारी दिए। ‘यो सर्जरी माइनस ०.५ देखि माइनस १४ सम्मको पावर भएकालाई गरिन्छ,’ उनले भने।
सन्दीपको शल्यक्रियापछि दृष्टि क्षमता राम्रो भएको उनले जानकारी दिए। शल्यक्रियाका कारण सन्दीपले साग खेल भने गुमाउनु परेको छ। शल्यक्रियापछि आराम गर्नुपर्ने भएकाले उनले साग नखेल्ने भएका हुन्। उनले दुईदेखि तीन हप्ता आराम गनुपर्ने बताइएको छ।
‘टाढाको वस्तु देख्न समस्या भएपछि चश्मा लगाउनुको विकल्पमा मैले यो सर्जरी गरेको हुँ,’ शल्यक्रिया पश्चात सन्दीपले भने, ‘विदेशमा पनि बुझेको थिएँ तर आफ्नै देशमा गर्ने सोच भएकोले यहाँ गराएँ। म एकदमै खुसी तथा सन्तुष्ट छु। शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ।’
तिलगंगाका अनुसार विश्वका अन्य मुलुकहरुमा यो एकदमै महँगो प्रविधि भएकोले शल्यक्रिया शुल्क पनि महँगो छ तर नेपालमा प्रतिष्ठानले अन्य मुलुकभन्दा सस्तोमा उपलब्ध गराएको छ। त्यसैले विश्वका धेरै मुलुकहबाट विदेशी तथा गैरआवासीय नेपालीहरु यो शल्यक्रिया गराउन प्रतिष्ठान आउने गरेका छन्।