काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्रीको स्वास्थ्यमा बुधबार बिहानदेखि सुधार आएको हाे।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो।
उनलाई बिहान भेन्टिलेटरबाट हटाइएको हाे। अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्री ओली राम्राेसँग कुराकानी गर्न सक्ने अवस्थामा रहकाे जानकारी दिए। प्रधानमन्त्रीलाई डाक्टरहरूको निरन्तर निगरानीमा राखिएको छ।
स्वास्थ्यमा सुधार आएपछि बिहान प्रधानमन्त्री पत्नी राधिका शाक्यले उनलाई भेटेकी थिइन्। स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीलाई भेट्न परिवारका सदस्य र पार्टीका नेता पनि बुधबार अस्पताल पुगेका छन्।
