काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जानकारी दिएको छ। प्रधानमन्त्री उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेकाे छ।
बिहीबार बिहान १० बजे विज्ञप्ति जारी गर्दै सेन्टरले भनेको छ, 'हाल सम्माननीयज्यू (प्रम ओली)को स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको व्यहोरा जानकारी गराइन्छ।' अस्पतालका अनुसार प्रधानमन्त्रीलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको ’एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट हटाइएकाे थियाे।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो। परीक्षणमा उनलाई 'पेरिटोनाइटिस' (पेटमा संक्रमण) पनि देखिएपछि तुरुन्तै 'ल्यापरोटोमी' गरिएको थियो। प्रधानमन्त्री ओलीलाई डा रमेशसिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो।
