काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरुले बताएका छन्। उनलाई अहिले ठोस आहार दिन थालिएको छ। साथै उनी हिँडडुल गर्न सक्न थालेका छन्।
प्रमका निजी चिकित्सक डा दिव्या सिंह शाहले प्रमको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताउँदै उनको फिजिकल तथा बायोकेमिकल मापदण्डहरुमा सुधार देखिएको बताएकी छिन्।
प्रमको एपेन्डिक्सको शल्यक्रिया भएको आज तेस्रो दिन पूरा भएको छ। उनी अहिले मनमोहन कार्डियक थोरासिक एण्ड भास्कुलर सेन्टरमा उपचाररत छन्।
प्रधानमन्त्रीको उपचार प्रक्रिया र अहिलेको अवस्थाका विषयमा डा शाहको भनाई :
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपण गरेको मिर्गौलाको काममा ह्रास आउन थालेकाले बिचमा डायलाइसिस गर्नु परेको हो। मिर्गौलाले अलिअलि काम गरेको छ तर जति शत प्रतिशत काम गर्नुपर्ने हो त्यो गरिरहेको छैन। त्यसकारण पनि बिचबिचमा डायलाइसिस उहाँलाई गर्दै आइरहेको छौँ।
अहिले अप्रेसन भएको समयमा अलिकति हाइपरक्याटाबोलिजम स्टेज हुन्छ त्यो भएर हामीले बिरामीलाई जसरी पनि स्टेबल राख्नुपर्ने र कुनैपनि समस्या आउनुभन्दा पहिला नै चिकित्सकले समस्या आउन नदिन उपायहरु अबलम्बन गर्छ। त्यही अबलम्बन गर्ने क्रममा नै हामीले उहाँको दुई पटक डायलाइसिस गर्यौँ। अब स्टेबल भएको अवस्था छ। उहाँलाई चाहियो भने मात्र डायलाइसिस गर्छौँ।
उहाँको शल्यक्रियापछि रक्तश्राव पनि हुने सम्भावना भएका कारण धेरै रक्तश्राव नहोस भनेर प्लेटस दिइएको छ। प्लेटलेटले रक्तश्राव हुनलाई रोक्छ। कम्प्लिकेसन नहोस भनेर उहाँलाई प्लेटलेट्स चढाइएको हो। यो उपचारकै क्रम हो। उपचारका क्रममा जुनबेला जे जरुरछ पर्छ हामीले त्यही एक्सन लिन्छौँ। अरु साधारण बिरामीको लागि पनि यही प्रक्रिया अपनाउने हो। डाक्टरले सबै कुरा मेन्टेन होस भनेर गरिने उपचार प्रक्रिया हो।
अप्रेसनको आफ्नै खतरा रहन्छ। प्रत्यारोपण गरेको बिरामीमा लक्षण केही पछि आउँछ। ज्ति पीडा हुनुपर्ने, ज्वरो आउनु पर्ने आउँदैन। यसका साथै संक्रमणको खतरा पनि बढी हुन्छ। किटाणु ह्वार्र फैलिन्छ।
प्रत्यारोपण गर्ने कुरामा यहाँ नेपालमा राम्रो टिम र नतिजा छ। सरकारी वा निजी जहाँ गएर पनि प्रत्यारोपण सेवाको उपचार गर्न सकिन्छ।