काठमाडौं- नेपाली सेनाले सञ्चालन गरेको मेडिकल कलेजले विद्यार्थीबाट उठाएको बढी शुल्क फिर्ता गर्ने भएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र प्रधान सेनापति पूर्ण चन्द्र थापाबीच शुक्रबार शुल्कका विषयमा छलफल भएको थियो। छलफलमा प्रधान सेनापति थापाले सरकारले तोकेको भन्दा बढी उठाइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन्।
छलफलमा प्रधान सेनापति थापाले इन्सिच्युट अफ हेल्थ साइन्सले बढी शुल्क लिइएको स्विकार गर्दै विद्यार्थीको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको मन्त्रालय स्रोतले जानकारी दियो।
सेनाको मेडिकल कलेजले विद्यार्थीसँग ८ लाखभन्दा बढी शुल्क उठाएको समाचार पहिलोपटक स्वास्थ्यखबरले प्रकाशित गरेको थियो। ‘सेनाको मेडिकल कलेजले पनि असुल्यो ८ लाख बढी शुल्क, मिडियालाई सूचना दिए गायब पार्ने धम्की’ शिर्षकमा समाचार प्रकाशित भएको थियो।
उक्त समाचारपछि निजी मेडिकल कलेज सञ्चालकले सेनाले उठाएको शुल्क पनि फिर्ता हुनुपर्ने सर्त राखेका थिए।
सेनाको मेडिकल कलेजले समेत विद्यार्थीबाट बढी शुल्क लिएको समाचार बाहिर आएपछि मन्त्रालयले समेत यो विषयमा चासो दिएको थियो। सोही अनुसार मन्त्रालयमा आज छलफल भएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
उनका अनुसार शुक्रबार साँझ भएको छलफलमा शिक्षा मन्त्री पोखरेलले प्रधान सेनापति थापालाई सरकारले तोकेको भन्दा बढी शुल्क फिर्ता वा समायोजन गर्न आग्रह गरेका थिए। यसका साथै मन्त्री पोखरेलले आगामी दिनमा सरकारले तोकेको शुल्क मात्र विद्यार्थीसँग लिन पनि आग्रह गरेका थिए।
त्यसपछि प्रधान सेनापति थापाले सरकारको निर्णय अनुसार नै अगाडि बढ्ने प्रतिबद्धता जनाएको स्रोतले जानकारी दियो।
निजी मेडिकल कलेजसँग सरकारले १० गते मंगलबार २ बुँदे निर्णय गरेको थियो। उक्त निर्णयमा विद्यार्थीसँग बढी लिइएको रकम समायोजन वा फिर्ता गर्ने उल्लेख छ।
सेनाको मेडिकल कलेजले पनि सोही सहमति अनुसार रकम फिर्ता वा समायोजन गर्ने भएको हो।
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)बाट सम्बन्धन प्राप्त सेनाको कलेजले ८ लाख रुपैयाँसम्म बढी लिएको कलेजकै ‘फी स्ट्रक्चर’बाट देखिन्छ।
उपत्यकाको सानोभर्याङमै रहेको सो कलेजले ‘ट्युसन फी’ शीर्षकमा लिएको रकम नै सरकारले उपत्यका बाहिरका लागि तोकेको बराबर छ। यसबाहेक विभिन्न शीर्षक बनाएर कलेजले थप रकम असुलेको छ।
कलेजले पूर्णशुल्कीय विद्यार्थीबाट ४२ लाख८२ हजार रुपैयाँ लिएको सन् २०१६ मा कलेजले जारी गरेको फी स्ट्रक्चरमा देखिन्छ।

सरकारले आर्थिक वर्ष २०७३/०७४ मा एमबिबिएसको शुल्क उपत्यकाभित्रका लागि ३५ लाख रुपैयाँ तोकेको थियो। उपत्यका बाहिरका लागि ३८ लाख ५० हजार तोकिएको थियो।
सरकारी निकायले नै संचालन गरेको मेडिकल कलेजबाट ठगिएका विद्यार्थी डरधम्कीका कारण बोल्न नसकेको बताउँछन्। बढी शुल्क लिएको सूचना प्राप्त भएपछि स्वास्थ्यखबरले विद्यार्थीहरलाई किन नबोलेको? भनी गरेको प्रश्नमा नाम उल्लेख नगर्ने शर्तमा एक विद्यार्थीले भने, ‘यो विषय बाहिर नल्याउन हामीलाई निरन्तर धम्काइयो। प्रशासनले हामीलाई ‘यदि यो विषय मिडियामा पुर्यायौ भने आर्मीले गायब गर्छ भन्ने धम्की दिइएको छ।’
नेपालभरका विद्यार्थीहरू बढी शुल्कविरुद्ध आन्दोलित भइरहेका बेला आफू डराएर बस्नुपर्ने अवस्था रहेको विद्यार्थीको गुनासो छ। ‘हामीले तीन वर्षअघि बढी शुल्क लिइएको विषयमा आवाज उठाउन खोजेका थियौं। चिकित्सा शिक्षाका विकृति विरुद्ध लडिरहेका डा गोविन्द केसी सरलाई पनि भेटेका थियौं।’

डा केसीलाई भेटेको विषयमा कलेज प्रशासनले थाहा पाएपछि थर्काएको विद्यार्थीहरू बताउँछन्। त्यसपछि डा केसीलाई भेट्नु गल्ती भयो भन्दै क्षमायाचनासहितको निवेदन समेत लेख्न लगाएको उनीहरुको भनाइ छ।
विद्यार्थीहरुले यस विषयमा चिकित्साशास्त्र अध्ययन संस्थानमा समेत सूचना दिएका थिए। आर्मीजस्तै विभिन्न मेडिकल कलेजहरूबाट बढी शुल्क लिइएको गुनासो आएपछि आइओएम डिन कार्यालयले २०७३ पुसमा सूचना जारी गर्यो। जहाँ निर्धारित शुल्क (उपत्यकाभित्र ३५ लाख रुपैयाँ र बाहिर ३८ लाख ५० हजार रुपैयाँ) मात्रै लिन भनिएको छ।