डडेल्धुरा - डडेल्धुरामा हालसम्म ९६ जना एचआइभी संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ। संक्रमितमध्ये ४३ पुरुष र ५३ महिला छन्। सबैभन्दा बढी संक्रमित परशुराम नगरपालिका क्षेत्रमा भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।
दुई वर्षमा डडेल्धुरामा पाँचजना संक्रमितको मृत्यु भएको छ। समयमै एआरटी सेवा लिन नमान्दा उनीहरूको मृत्यु भएको स्वास्थ्य कार्यालयले दाबी गरेको छ। मृत्यु हुनेमा तीन महिला, दुई पुरुष रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका सूचना अधिकारी जनक चन्दले बताए।
असुरक्षित यौन सम्पर्क र रोजगारीको सिलसिलामा भारत जाने युवाका कारण जिल्लामा एचआइभी संक्रमितको संख्या वृद्धि हुँदै गएको स्वास्थ्यकर्मीहरुको भनाई छ।
युवाहरू एचआइभी संक्रमित भएर फर्कने र श्रीमतीलाई सार्ने गरेका कारण संक्रमितको संख्या बढेको हो। रोजगारीका लागि भारत जाने गरेका युवामार्फत नै एचआइभी भित्रिने गरेको स्वाथ्य कार्यालय डडेल्धुराका सूचना अधिकारी चन्दले बताए। उनले भने, ‘जिल्लामा रहेका ९६ जना एचआइभी संक्रमितहरू सबै भारतमा रोजगारीका लागि गएकाहरू हुन्। उनीहरूकै कारण संक्रमित भएको देखिन्छ।’ सबैभन्दा संवेदनशील भित्रमधेसमा पर्ने परशुराम नगरपालिकाको जोगबुडा क्षेत्र रहेको चन्दले बताए।
जोगबुडा क्षेत्र भारतसँग सीमा जोडिएको र त्यस क्षेत्रका बासिन्दा धेरैजसो रोजगारीका लागि भारत जाने गरेका छन्। उनीहरूले श्रीमतीलाई एचआइभी सार्ने र उनीहरूबाट जन्मिएका बालबालिका पनि कतिपय संक्रमित देखिएको एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएका डडेल्धुरा प्लसका कार्यक्रम अधिकृत भरत ऐरले जनाए।
‘दुई सयभन्दा बढी संक्रमित जिल्लामा छन्, खुलेर आउँदैनन्,’ ऐरले दाबी गरे। समयमा औषधि खान नपाएको र खान नआएकाले पनि संक्रमितको मृत्यु भएको बताइन्छ। पाँच वर्षयता मात्र डडेल्धुरामा एआरटी सेन्टर स्थापना गरिएको छ।
एक तथ्यांकअनुसार डडेल्धुरामा रहेका ९६ जना एचआइभी संक्रमितमध्ये ८३ जनाले मात्र एआरटी सेवा लिने गरेको एआरटी सेवा काउन्सिलर हर्कबहादुर दियालले बताए। सदरमुकामा रहेको एआरटी सेन्टरमा बैतडीका १० जना र डोटीका तीनजना गरी हाल ९६ जनाले सेवा लिइरहेको उनले बताए । तीमध्ये आठजना बालबालिका छन्।