धनगढी- कैलालीमा पछिल्लो समय एचआइभीका नयाँ संक्रमण दरमा कमी आएको छ। स्वास्थ्य कार्यालय कैलालीले दिएको जानकारी अनुसार पछिल्ला चार वर्षयता एचआइभीको नयाँ संक्रमण दर घट्दै गएको छ।
स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ को कार्तिक महिनासम्म एक हजार एक सय ७६ जनाको रगत परीक्षण गरिएकोमा ३२ जना नयाँ एचआइभी संक्रमित फेला परेका छन्।
गत आर्थिक वर्ष २०७५/०७६ मा पाँच हजार एक सय ४५ जनाको रगत परीक्षण गरिएकोमा एक सय सात जना नयाँ एचआइभी संक्रमितको पहिचान भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा कैलालीमा छ हजार तीन सय ३० जनाको रगत परीक्षण गरिएकोमा एक सय १७ जनामा एचआइभी पोजेटिभ देखिएको थियो। भने आर्थिक वर्ष २०७४/०७५ मा छ हजार चार सय ८१ जनाको रगत परीक्षण गरिएकोमा एक सय १५ जना संक्रमित फेला परेका थिए।
चालु आर्थिक वर्षमा पहिचान भएका नयाँ एचआइभी संक्रमितहरुमध्ये पुरुषको संख्या बढि छ । यो अवधिमा १८ जना पुरुष तथा १४ जना महिलामा एचआइभीको संक्रमण रहेको पाइएको छ। गत आर्थिक वर्ष २०७५/७६ मा ६४ जना पुरुष, ३७ जना महिला, एक बालिका तथा चार बालकमा एचआइभी संक्रमण देखिएको थियो।
बसाई सराई समस्या
कैलालीमा पहिचान भएका नयाँ एचआइभी संक्रमणमध्ये धेरै जसो बाहिरबाट बसाई सराई गरेर आएका व्यक्ति रहेको पाइएको छ। कैलाली स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले भने– 'एचआइभी रोकथामका लागि बसाई सराई मुख्य समस्या भएको छ।' उनका अनुसार चालू आर्थिक वर्षमा ३२ जना संक्रमितमध्ये १५ जना छिमेकी मुलुक भारतबाट बसाई सराई गरेर आएकाहरु रहेका छन् भने आर्थिक वर्ष २०७५/७६ मा ५२ जना भारतबाट आएका रहेका थिए।
मृत्युदर घट्यो
दुई वर्ष यता एचआइभीका कारण हुने मृत्यु दरमा कमी आएको छ। आर्थिक वर्ष २०७४/७५ मा एचआइभीका कारण ३९ जनाको मृत्यु भएकोमा आर्थिक वर्ष २०७५/७६ मा २७ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ।
त्यस्तै, चालु आर्थिक वर्षको चार महिनामा एचआइभीका कारण ११ जनाको मृत्यु भएको जनाइएको छ।
सेती अञ्चल अस्पतालका डाक्टर शेरबहादुर कमरका अनुसार एचआइभी संक्रमितले नियमित रूपमा औषधि सेवन नगर्नु तथा एचआइभी संक्रमितलाई अन्य रोगले संक्रमण गर्नु लगायतका कारण मृत्युदरमा बृद्धि भइरहेको छ।
‘नियमित रूपमा औषधि सेवन गर्ने हो भने एचआइभी संक्रमितलाई निको पार्न सकिन्छ’ डाक्टर कमरले भने– तर, धेरैजसो केसमा संक्रमितले नियमित रूपमा औषधि सेवन गरेको पाइदैन।
स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा चार जनामा एचआइभीसंगै क्षयरोगबाट पीडित छन भने भने गत वर्ष ३० जना रहेका थिए।
कैलाली जिल्लामा हालसम्म एआरटी सेवा लिनेको दर्ता संख्या दुई हजार सात सय ६७ रहेको कैलाली स्वास्थ्य कार्यालयले जनाइएको छ। तीमध्ये वयस्क पुरुषको संख्या एक हजार दुई सय ८२ रहेको छ भने एक हजार दुई सय ५४ जना महिला रहेका छन्। कार्यालयले दिएको तथ्यांक अनुसार १५ जना युवा, एक सय १६ जना बालक र एक सय जना बालिकाले एआरटी सेवा लिइरहेका छन्।
त्यस्तै, हालसम्म एआरटी सेवा अन्तर्गत औषधि सेवन गरिरहेकाहरूको संख्या एक हजार तीन सय ६१ रहेको छ। तीमध्ये पा“च सय ३९ जना पुरुष र छ सय ९६ जना महिला रहेका छन्।
कैलाली स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लाइन औषधि खाने एचआइभी संक्रमितको संख्या ८३ रहेकोे छ।