काठमाडौं- नेपाल चिकित्सक संघमा सदस्यता वितरणको विषयमा विवाद उत्पन्न भएको छ। सदस्यता वितरणका क्रममा फर्जी सदस्य बनाएको भन्दै नेकपा निकट डाक्टरहरुले विरोध गरेपछि विवाद उत्पन्न भएको हो।
विवाद चर्किएपछि संघ कार्यालयमा प्रहरीनै बोलाउनु परेको थियो।
संघमा नयाँ सदस्यताका लागि आज ५ बजेसम्मको समय तोकिएको थियो।
तर, सो अवधिमा संघका पदाधिकारीले सदस्यता बापतको पैसा नै नलिई फर्जी सदस्य थप्न लागेको भन्दै नेकपा निकटका डाक्टरहरुले विरोध गरेका हुन्।
विवादका क्रममा नेकपा निकट डाक्टरहरुले आफूसँग सत्ता रहेको भन्दै जे पनि गर्न सक्ने धम्की दिएको संघका अध्यक्ष मुक्ति श्रेष्ठले बताए।
'नेकपा निकट डाक्टरहरुले गृहमन्त्रीदेखि समग्र सरकार र सत्ता आफूसँग रहेको भन्दै जे पनि हुनसक्ने धम्की दिनुभयो,' उनले भने, 'सो क्रममा केहीले कुर्सी समेत फाल्नुभयो।'
अध्यक्षका उम्मेदवार डा पुष्पमणि खराल केही साथीले आक्रोशमा उक्त शब्द बोलेको बताउँछन्।
'फर्जी सदस्य बनाउने र रातभर नयाँ सदस्य थप्ने देखिएपछि हामीले त्यसको विरोध गरेका हौँ,' उनले भने 'सो क्रममा केही साथी अली बढी आक्रोशित हुँदा त्यस्ता कुरा बोल्नु भयो। उहाँहरुबाट गल्ती भएको हो तर उहाँहरुले इन्टेनसनल्ली त्यस्तो बोल्नु भएको होइन।'
उनले दुवैपक्षबीचको छलफलपछि विवाद समाधान भएको जानकारी दिए।
उनले प्रजातान्त्रिक समूहका केहीले मदिरा सेवन गरेर हल्ला गरेको आरोप समेत लगाए।
संघका अध्यक्ष डा श्रेष्ठले कोही पनि फर्जी सदस्य नबनाइएको बताए। उनले सदस्यका लागि चेक दिएका विषयमा केहीले चेक हुँदैन क्यास नै चाहिन्छ भनेर विवाद निकालेको जानकारी दिए।
'यो डाक्टरहरुको संस्था हो, डाक्टर बाहेक अरुलाई सदस्य बनाउन मिल्दैन त्यसकारण फर्जी सदस्य बनाइयो भनेर उहाँहरुले गलत आरोप लगाउनु भयो,' उनले भने, 'सदस्यका लागि तीन हजार रुपैयाँ तिर्नु पर्छ । केही साथीले त्यसका लागि चेक दिनु भएको थियो। हामीले रसिद काटेर त्यसलाई मिलाइरहेका थियौँ। तर चेक हुँदैन भन्दै विरोध भए। त्यसपछि चेक दिने साथीले चेक साटेर क्यास ल्याउँदा ५ बजिसकेको थियो। प्रक्रियामा आइसकेका उनीहरुलाई सदस्यता दिन खोज्दा विवाद निकालियो।'
उनले विवाद भएपछि चेक दिने करिब एक सय जतिलाई सदस्य नदिने विषयमा सहमति भएको बताए।
संघको निर्वाचन आगामी माघमा हुँदैछ।