काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्च भए पनि प्रधानमन्त्रीले आझै एक साता आराम गर्नुपर्ने डाक्टरहरुले बताएका छन्।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा १० दिनदेखि उपचाररत प्रधानमन्त्री ओली बिहिबार दिउसो ४ बजे डिस्चार्ज भएका हुन्।
प्रधानमन्त्रीलाई मंसिर १० गते बिहान साढे ९ बजे अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि लगत्तै उनको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो।
प्रधानमन्त्री डिस्चार्ज भएपछि उनको निजी चिकित्सक डा दिव्या सिंह शाह र स्वास्थ्य सल्लाहकार डा अरुण सायमीले छोटो प्रतिक्रिया दिएका छन्। उनीहरु दुवै जनाले प्रधानमन्त्रीले अझै एक साता आराम गर्नुपर्ने बताएका छन्।
डिस्चार्ज पनि के भन्छन् डाक्टरहरु
डा अरुण सायमी
सुरुमा त एकदम चिन्ता लागेको थियो। यति चाँडै डिस्चार्ज भएर स्वास्थ्य लाभ गरेर जानुभयो । सबैको शुभकामना र उहाँको आत्मवलले नै यो भएको जस्तो लाग्छ । केही दिन आराम गर्नुपर्छ । त्यसपछि फेरि नियमित काममा जानुहुन्छ । हामी उहाँको नियमित फलोअप गर्छौ ।
डा दिव्यासिंह शाह
शल्यक्रियापछि उहाँको एकदमै राम्रो अवस्था छ। हामीले सोचेको भन्दा निकै छिटो उहाँको स्वास्थ्यमा सुधार आयो । आज डिस्चार्ज हुनुभएको छ। अब उहाँको शल्यक्रियाको घाउँ विस्तारै पुरिँदै गएको छ । अलि अलि दुख्छ पनि । अब त्यो घाउ पुरै पुरिएर नदुख्ने हुन अलिक दिन लाग्छ होला । त्यसपछि पूर्ण रुपमै स्वस्थ हुनुहुन्छ । अहिले अलिअलि मिटिङहरु गर्न मिल्छ । तर फिजिकल्ली कम्प्लिट्ली फिट हुन अर्को एकहप्ता १० दिन लाग्छ कि।