नेपाल नर्सिङ संघको नयाँ नेतृत्वका लागि आगामी पुस ९ गते निर्वाचन हुँदैछ। निर्वाचन समितिले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । नेतृत्वका लागि उम्मेदवारको टुंगो लगभग लागिसकेको छ। मुख्यतः संयुक्त पेसागत प्यानल र प्रगतिशील प्यानलबीच प्रतिस्पर्धा हुने देखिन्छ।
हरेक तीन वर्षमा हुनुपर्ने निर्वाचन पाँच वर्षपछि हुन लागेको हो। संघमा राजनीति हावी भएकाले नर्सिङ क्षेत्रमा मुद्दा उठाउन हालको नेतृत्व कमजोर भएको आरोप पनि लाग्दै आएको छ। यद्यपि, देशका सबै नर्सको पेसागत हकहित र विकासका लागि स्थापित संघको ५८ वर्ष पुरानो इतिहास छ।
संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा दुवै प्यानलका उम्मेदवारको उद्देश्य र भावी योजनाबारे स्वास्थ्यखबरकी कल्पना पौडेलले कुराकानी गरेकी छिन्। अध्यक्षका दुवै उम्मेदवारको भनाइ उनीहरुकै शब्दमाः
आवाज विहीनको आवाज बनेर अघि बढ्ने छौं
प्रा मुना राना थापा, संयुक्त पेसागत प्यानल
अहिले नर्सिङ पेसा विभिन्न समस्याबाट गुज्रिरहेको छ। नर्सहरुले गर्नुपर्ने भोलेन्टियर, कम तलबमा काम गर्नुपर्ने अवस्था, बेरोजगारी र नर्सिङ हिंसा मुख्य समस्या हुन्।
नर्सका पेसागत हकहित र सुरक्षाका लागि नेपाल नर्सिङ संघले आवाज उठाउँदै आएको छ। तर, संघले यो विषयमा जति बोल्नुपर्ने हो, आवाज विहीनको आवाज बनेर अघि बढ्नुपर्ने हो, त्यसरी नेतृत्व गर्न नसकेको गुनासो पनि छ।
त्यही गुनासोलाई सम्बोधन गर्न, नर्सका समस्याबारे सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै अवसरको खोजी गर्न संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको छु।
संघमा राजनीति पसेको भन्ने पनि सुनिन्छ । राजनीतिक आस्था सबैको एकातिर होला तर पेसागत आस्थालाई प्राथमिकताका साथ उठाउनुपर्छ। म र मेरो नेतृत्वले यही कुरालाई केन्द्रमा राखी काम गर्ने छ।
नेपाल नर्सिङ संघमा सबै नर्सको आकर्षण बढाउन पेसागत समस्यालाई उठाउने र समाधानका लागि पहल गरिनुपर्छ। त्यसैको कमीले संघमा सबै नर्सहरु आवद्ध छैनन्।
नेपाल नर्सिङ काउन्सिलमा ९० हजार नर्स दर्ता छन्। संघमा करिब १४ हजार मात्र सदस्य छन्। सबैलाई महत्व बुझाउन नसकेर हो भन्ने लाग्छ। संघमा देशभरका सबै नर्सलाई आवद्ध गरेर एक ढिक्का भएर अघि बढ्ने छु।
२०१८ सालमा स्थापित नेपाल नर्सिङ संघको ५८ वर्षको इतिहास छ। तर अहिलेसम्म संघ पुरानै शैलीमा अघि बढिरहेको देखिन्छ। नयाँ आउनेहरुलाई नेतृत्वमा ल्याउने, सबैलाई अवसर दिने थालनी अब जरुरी छ।
यसमा धेरै राजनीतिकरण भएको छ। त्यसबाट ननिस्कने हो भने सबैलाई साथमा लिएर हकहितका लागि अघि बढ्न समस्या हुन्छ। अहिले भइरहेको पनि त्यही छ। तर संघको उद्देश्य समग्र नर्स, नर्सिङ क्षेत्रको विकास हो। त्यही रुपमा अघि बढ्नुपर्छ।
म नेतृत्वमा आएपछि सबै गतिविधिलाई पारदर्शी बनाउने, नर्सका कुरा सरकारसम्म पु¥याउने पहिलो काम गर्ने छु। त्यसैले मेरो नेतृत्वको प्यानलमा युवा, निजी, सरकारी सबै स्थानमा काम गर्ने नर्सहरुको समावेशी समूह छ। जो नर्सको हकहित र विकासका लागि काम गर्न प्रतिवद्ध छन्।
राजनीति होइन, व्यावसायिक काम गर्ने छौं
प्रा मनकुमारी राई, प्रगतिशील प्यानल
नर्सहरुलाई अहिले धेरै समस्या छ। त्यसको समाधानका लागि मेरो पहल हुने छ। अहिले नर्सलाई जोखिम भत्ता दिन छोडिएको रहेछ। एचआइभी एड्स/हेपाटाइटिस जस्ता संक्रामक रोग तथा समस्या भएका बिरामीको हेरचाह गर्ने नर्सहरुलाई जोखिम भत्ता आवश्यक हुन्छ।
सरकारी र निजी अस्पतालमा काम गर्ने नर्सको तलब समान छैन। त्यसका लागि पनि सम्बन्धित ठाउँमा गएर समान तलबका लागि पहल गर्ने छु।
सरकार अनमीहरुलाई फेज आउट गर्न लागेको रहेछ। उनीहरुको उचित व्यवस्थापन गर्नका लागि हाम्रो नेतृत्व आयो भने पहल गर्ने छौँ। नर्सिङ संघमा राजनीति भयो भन्नेहरुलाई हामीले समान व्यवहार र काम गरेर देखाउने छौँ। प्रोफेसनल काम गरेर देखाउने छौँ, राजनीति होइन।
अर्को भनेको संघमा आवद्ध भएका सदस्यहरुको वार्षिक समीक्षा गर्दै नयाँ सदस्य बनाउनका लागि पनि काम गर्ने छौँ। हुनत हामीले काम गरेको देखेपछि सदस्यता लिन नर्सहरु आफैं आउनुहुने छ। हामीले पनि प्रेरित गर्ने छौँ।
यो पनि