काठमाडौं- युनिभर्सल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति भएको छ ।
अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीको उपस्थितिमा विद्यार्थी र कलेज प्रशासनबीच सहमति भएको हो।
राति १२ बजे भएको सहमति पत्रमा कलेजका तर्फबाट अजयकुमार पिएस र सन्तोषकुमार विएन र विद्यार्थीका तर्फबाट अशोक छत्कुली, रुद्रनारायण शाह, राजेश पौडेल, सुभास झा लगायतका १५ जना विद्यार्थीले हस्ताक्षर गरेका छन्।
सहमतिपछि विद्यार्थीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्ने जनाएका छन्। भने कलेजका शैक्षिक प्रशासनिक एवं प्राज्ञिक क्रियाकलाप सूचारु हुने बताइएको छ।
यस्तै आन्दोलनमा सहभागी भएका विद्यार्थीलाई कलेजले कुनै पूर्वाग्रह नराख्ने, विद्यार्थीको शैक्षिक समस्यामा सम्वन्धमा कलेजको एकेडेमीक काउन्सिलमार्फत सम्वोधन गर्ने बताइएको छ।
सहमतिमा शैक्षिक वर्ष ०७५/७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्क समेत तिरिसकेको हकमा त्रिवि रजिष्टेशन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क सम्वन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने सहमति भएको छ।
०७४/७५ मा विद्यार्थीहरुले पहिलो र दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाईसकेकाहरुको हकमा त्रिवि रजिष्टेसन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क सम्वन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम आजैका मितिबाट समायोजन फिर्ता गर्ने प्रक्रिया शुरु गर्ने सहमति पत्रमा भनिएको छ ।
.jpg)
