बाँके- बाँकेको नरैनापुर–५ का एक स्वघोषित (झोले चिकित्सक) चिकित्सक विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको छ। ती चिकित्सकको उपचारकै कारण दुईको मृत्यु भएको आशङ्कापछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो। यद्यपि, आरोपित चिकित्सक भने फरार छन्।
मंसिर दोस्रो साता ‘झोले चिकित्सक’ भारत श्रावस्ती जिल्लाको मनकौराका राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी–७ गेंदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय बाँके प्रशासन र औषधि व्यवस्था विभागले समेत मेडिकलमा छापा मारेको थियो।
त्यसक्रममा दुई औषधि पसलको औषधि नियन्त्रणमा लिएको र एउटा औषधि पसललाई बन्द गरिएको थियो । “अनुसन्धानका क्रममा रहेकाले धेरै कुरा बोल्न मिल्दैन”, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायब निरीक्षक मुकुन्द सिग्देलले भने, 'मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको छ।' रासस