काठमाडौं- सरकारले राजीनामा अस्वीकृत गरेपछि स्वास्थ्य तथा जनसंख्या सचिव डा पुष्पा चौधरीले उक्त निर्णयलाई पुनर्विचार गर्न निवेदन दिएकी छिन्।
विश्व स्वास्थ्य संगठन भारतमा जागिर खान जानका लागि डा चौधरीले सचिव पदबाट राजीनामा दिएकी थिइन। तर सरकारले भने उनको राजिनामा अस्वीकृत गरेको थियो।
डा चौधरीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई चार दिन अघि मन्त्रालयमा भेटेर राजीनामा बारे पुनर्विचार गरिदिन आग्रह गरेकी थिइन्।
तर, मन्त्रालयएका एक उच्च अधिकारीले भने,‘सरकारले उहाँको राजिनाबारे पुनः विचार गर्ने सम्भावना तत्काल देखिदैँन।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा चौधरीले कात्तिक ३ गते राजीनामा बुझाएकी थिइन्। तर मन्त्रिपरिषदले उनको राजीनामा अस्वीकृत गरेको थियो। राजीनामा अस्वीकृत गरेको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्वास्थ्य मन्त्रालयमा पठाइसकेको छ।
राजीनामा दिएपछि सचिव चौधरी मन्त्रालय आउन छाडेकी छिन्।
सरकारले गत वर्ष उनलाई स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। त्यसपछि उनले सरकारविरुद्ध मुद्दा हालेकी थिइन्।
सरकारविरुद्द मुद्दा हालेका कारण पनि उनको राजीनामा स्विकृती नभएको हुनसक्ने स्वास्थ्यका कर्मचारी बताउँछन्। डा चौधरीको सरकारी सेवामा अझै २ वर्ष कार्यकाल रहेको छ।