काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने बताएका छन्।
सोमबार स्वास्थ्य पत्रकारसँगको भेटघाटनमा मन्त्री ढकालले स्वास्थ्य बिमाको विषयमा आफुले जानकारी लिइरहेको पनि बताए।
उनले सरकारी अस्पतालको स्तरवृद्धि गर्ने र चिकित्सकलाई कसरी काममा परिचालन गर्ने भन्ने विषयमा ठोस कदम चाल्ने बताए।
उनले भने, ‘सरकारी अस्पतालमा समय दिन नसक्ने, निजीमा काम गर्ने चिकित्सकलाई २४ सै घण्टा सरकारी अस्पतालमा काम गर्ने वातावरण बनाउन केके सेवासुविधा थप गर्नुपर्छ भन्ने विषयमा छलफल गरिरहेको छु।’
कानुन मन्त्रालयबाट जिम्मेवारी हेरफरमा स्वास्थ्य मन्त्रालय सारिएपछि अन्य भन्दा फरक मन्त्रालय पाएको अनुभव गरेको बताए।
‘अन्य मन्त्रालयभन्दा निकै पृथक पाएको छु। सोझै जनतासँग जोडिएका विषय भएको र धेरै कर्मचारी। सेवा समुह रहेछ। कर्मचारीको व्यक्ति केन्द्रित मन्त्रालयको रुपमा मौलाएको रहेछ,’ उनले भने।
अहिले मन्त्रालयको कार्यक्रम, संरचनागत विषयबारे जानकारी लिइरहेको बताउँदै उनले आफ्नो योजना बनाउनु अघि मन्त्रालयका पूर्व स्वास्थ्यमन्त्री र सचिवहरुसँग अन्तरक्रिया गर्ने बताएका छन्।
अन्यत्रभन्दा समायोजनले स्वास्थ्य मन्त्रालयलाई समस्यामा पारेको उल्लेख गर्दै मन्त्री ढकालले सात हजार कर्मचारीको समयोजनमा समस्या रहेको जानकारी दिए।
उनले भने, ‘समायोजनको सबै काम पहिले नै स्वास्थ्यबाट भएको भए हुन्थ्यो तर जसले जिम्मा पाएको थियो उसले प्रविधिमा भर पर्दा धोका पायो।’
पदनाम नमिलेको, खोजेको स्थानमा जान चाहेको, विषयगत ज्ञान र जिम्मेजारी नमिलेको लगायतका समस्या समायोजनमा देखिएको उनको भनाई छ।
उनले भने, ‘समायोजनका क्रममा आएका दुई हजार गुनासा मध्ये एक हजार गुनासो व्यवस्थापन भएको छ। बाँकी एक हजार गुनासा व्यवस्थावनको क्रममा रहेको छ।’
उनले कतिपय पहाडी र हिमाली जिल्लामा जान चाहेको भनी निवेदन पनि परेको भन्दै आवश्यकता पनि र माग भएका ठाउँमा कर्मचारी पठाउने हो भने समायोजनको समस्या कम हुँदै जाने विश्वास व्यक्त गरे।