धरान- गत भदौ २६ गते सिराहाको सनराइज बैंकबाट ४ लाख ८० हजार रुपैयाँ भुक्तानी लिने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
किर्ते हस्ताक्षर गरी रकम लिएको आरोपमा उनिहरू पक्राउ परेका हुन्। प्रतिष्ठानका निर्देशक डा गौरीशंकर साह र कार्यवहाक उपकुलपति डा. गुरुप्रसाद खनालले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
बैंकको सिसि क्यामेराको फुटेजको आधारमा प्रतिष्ठानकै एमबिबिएस चौथो बर्षमा अध्ययनरत प्रभात कापडी र बिश्वास झा पक्राउ परेका हुन्।
बैंकका २ कर्मचारी समेत पक्राउ
उक्त आरोपमा सिरहाको सनराइज बैंक मिचैया शाखाका दुई कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्सिना समेत पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार घटनामा संलग्न देखिएका प्रतिष्ठानमै कार्यरत डा रोशन यादव भने अझै फरार छन्। पक्राउ परेका आरोपीहरूले ६ महिनाअघि लेखा शाखाबाट चेक चोरी गरेर लगेको बयान दिएको प्रहरी प्रमुख न्यौपानेले बताए।
उनका अनुसार सनराईज बैक धरान शाखाका कर्मचारीहरुमाथि पनि अनुसन्धान भइरहेको छ। चेकमा साइन हेर्दा साइनको स्टम्प लगाएजस्तो देखिएको र यस्तो चेकबाट बैंकले कसरी भुक्तानी दियो भन्ने कुरा आश्चर्यजनक भएको उनले बताए।
अहिले प्रहरीले अस्पताल निर्देशक साह र तत्कालीन लेखा प्रमुख दिनेश दाहालको हस्ताक्षर परिक्षणका लागि ल्यावमा पठाइसकेको जानकारी दिएको छ। प्रतिष्ठानको सनराइज बैंकको खाताबाट चेकमार्फत ४ लाख ८० हजार रुपैयाँ सुम्सेन थापाको नाममा बिना आधार र टिप्पणी रकम भुक्तानी भएको थियो।
पहिलो चेक काण्डमा प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र लेखा प्रमुख रुपा सिंघाञ्चीको हस्ताक्षर थियो। उनीहरुले आफ्नो हस्ताक्षर किर्ते गरेको प्रष्टीकरण दिए। यो घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। पर्वतका जीवन पौडेलको नाममा काटिएको ५ लाख ५० हजारको चेकको भुक्तानी किन दिइएको थियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।