काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भाग लिन आएका दुई श्रीलङकाली खेलाडीलाई डेंगु भएको छ। डेंगु भएका एक खेलाडीको मिर्गौला वरपरपनि असर गरेको पाइएको छ।
बयोधा अस्पतालमा उपचाररत ती खेलाडीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ।
मंसीर २० गते एथलेटिक १०० मिटरमा स्वर्ण जितेकी एक खेलाडी र कबड्डी टीमकी एक सदस्यलाई ज्वरो आएपछि उपचारका लागि बल्खुस्थित बयोथा अस्पतालमा लगिएकाे थियो।
दुवै खेलाडीको रगत जाँच गर्दा डेंगु पहिचान भएपछि भर्ना गरी उपचार सुरु गरिएको थियो। अहिले दुवै खेलाडीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ।
उपचारमा संलग्न एक चिकित्सकले स्वास्थ्यखबरसँग भने,‘एक जना खेलाडीको मिर्गौला वरपर पनि असर भइसकेको छ। भोली उहाँहरुको फ्लाइट रहेछ। डिस्चार्ज गरी सिधै एयरपोर्ट पुर्याउनेछौँ। अर्की खेलाडी भने आजै डिस्चार्ज हुुुनुहुन्छ।’ उनले ती खेलाडीले श्रीलंका गएर पनि केही दिन एन्टीबायोटिक खानुपर्ने बताए।
यो वर्ष दक्षिण एसियाली देशहरुमा डेंगुको महामारी देखिएको छ। श्रीलंकामा पनि डेंगुको महामारी देखिएको थियो। दुवै खेलाडीलाई उतैबाट आउँदा नै डेंगु भएको ती चिकित्सकले बताए।
‘श्रीलंकामा पनि डेंगुको प्रकोप देखिएको छ। दुवै खेलाडी आउँदा डेंगु भएको हुनुपर्छ। यहाँ आएपछि मात्र लक्षण देखिएको हो,’ उनले भने। बयोथाबाहेकका अन्य अस्पतालमा पनि श्रीलंकाका खेलाडी भर्ना भएका थिए। उनीहरुलाई पनि डेंगु भएको थियो।
सागमा भाग लिन आएका १३ खेलाडीमा डेंगु देखिएको हो।
मंसीर १५ गते उद्घाटन भएको प्रतियोगिता आजै समापन हुँदैछ।