डडेल्धुरा- डडेल्धुरा अस्पतालमा लामो समयदेखि एघारौं तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट पठाइएको छैन। सरकारले पछिल्लो समय समायोजन प्रक्रियाको थालनी गरेपश्चात् भने अस्पतालमा प्रमुख मेसु पठाउने निर्णय गरेको थियो।
केही महिना अगाडि समायोजनमा परी डडेलल्धुरा अस्पतालमा पठाइएका प्रमुख मेसु नआउँदै उनको अवकाशपत्र डडेल्धुरा अस्पतालमा पुगेको अस्पताल स्रोतले बताएको छ।
स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत रहेका एघारौं तहका प्रमुख मेसु डा कृष्णप्रसाद खनाललाई डडेल्धुरा अस्पतालमा समायोजन गरेको थियो। तर डा खनाल अस्पतालमा हाजिर हुन नपाउँदै मन्त्रीस्तरको अर्को निर्णयअनुसार अनिवार्य अवकाशको पत्र डडेल्धुरा अस्पताललाई थमाइएको छ।
निजामती किताब खानाले डा खनालको उमेर मिति २०७६ मंसिर १ गते ६० वर्ष पुगेको जनाएपछि उनलाई मन्त्रीस्तरको निर्णयअनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ४५(१) मा व्यवस्था भएबमोजिम मिति २०७६ मंसिर २ गतेदेखि लागू हुनेगरी अनिवार्य अवकाश दिइएको हो।
विगत दुई वर्षयता संघीय सरकारको मातहत रहेको डडेल्धुरा अस्पतालमा न त अस्पताल विकास समिति बनेको छ, न त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नै पठाइएको छ। सरकारले गर्ने व्यवस्थापनको चपेटामा परेको डडेल्धुरा अस्पताल थला परेको छ भने सुदूरपश्चिमका लाखौं गरिब जनताहरु सरकारले गरेको व्यवहारबाट पीडा भोगिरहेका छन्। हाल विशिष्ट विशेषज्ञ अस्पतालमा नाम दर्ज गरिएको डडेल्धुरा अस्पतालमा २ जना मात्रै मेडिकल अधिकृत स्थायी दरबन्दीमा कार्यरत देखिन्छन्।
अस्पतालका सूचना अधिकृत टंकप्रसाद पन्तकका अनुसार अस्पतालमा कन्सल्टेन्ट चिकित्सक १९ जना र मेडिकल अधिकृत १८ जना, ४४ प्रकारका कर्मचारीलगायत रहने गरी १०९ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो। तर अस्पतालमा ती दरबन्दी पूर्ति भएका छैनन्।
डाक्टर अभावमा मेसिन बन्द
डडेल्धुरा अस्पातलमा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका नागरिकहरुले सेवा लिने गरेका छन्। तर पछिल्लो समय अस्पतालमा भएका उपकारणहरु पनि डाक्टर अभावमा बन्द गरिएको छ।
अस्पताल स्रोतका अनुसार एक जना फिजिसियन करारमा र ३ जना बालरोग विशेषज्ञ गरी ४ जना डाक्टर छन्। तर कसैले पनि भिडियो एक्सरे मेसिन चलाउने गरेका छैनन्। भिडियो एक्सरे सेवा नहँुदा यस क्षेत्रका नागरिक तराईका जिल्ला तथा भारतका अस्पताल र निजी अस्पतालमा जान बाध्य छन्।
विशेषज्ञ सेवा सहितको अस्पतालमा अहिले अपरेसन सेवा त परै जाओस् यस क्षेत्रका नागरिकाले ओपिडी सेवा समेत पाउन मुस्किल हुने गरेको छ। अस्पतालमा अस्पताल विकास समिति र कार्यालय प्रमुख छैनन् भने निमित्त प्रमुख रहेका डा जितेन्द्र कँडेल घरबिदामा छन्।