काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मुलुकको एक मात्र विशिष्ट कान्ति बाल अस्पताललाई सधै प्राथमिकता राख्ने बताएका छन्।
मंगलबार कान्ति बाल अस्पतालको निरीक्षणपछि स्वास्थ्य मन्त्री ढकालले भने, ‘बच्चाको विशिष्ट अस्पताल हो, हामीले पनि त्यही ढंगको व्यवहार गर्नेछौँं, अप्ठेरो पर्दा पनि अभिभावकत्व गर्नु पनि हाम्रै दायित्व हो।’
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएपछि अस्पतालहरुको स्थलगत निरीक्षण गरि समस्या, आवश्यकता बुझ्न समय खर्चिरहेका मन्त्री ढकालले अधिकांश अस्पतालको समस्या, गुनासा र आवश्यकता भिन्न प्रकृति भएपनि उस्तै खाले रहेको अनुभव सुनाए।
‘सबै अस्पतालमा दरबन्दी अभाव, जनशक्ति कमी, बजेट, उपकरणकै समस्या धेरै रहेछ, अस्पताल विकास समिति भंग गरेपछि देखिएको समस्याबारे पनि नयाँ ढंगले परिभाषित गरि अघि बढ्नुपर्छ भन्ने लागेको छ,’ उनले भने।
सरकार र समितिको समन्वयमा चलेको अस्पतालाई अब कसरी नयाँ रुपमा अघि बढाउने भन्नेबारे गृहकार्य गरिने उनले जनाएका छन्।
उनले अस्पतालहरुमा समितिमार्फत राजनीति हावी हुँदा सेवा प्रवाह प्रभावित भइरहेको भन्दै अस्पतालमा राजनीति नगर्न आग्रह गरे।

सरकारी अस्पताल स्वास्थ्य सेवा लिने अन्तिम विकल्प भएको बताउँदै उनले भने, ‘निजी अस्पतालमा पैसा सकिएपछि अन्तिम अवस्थामा सरकारी अस्पताल आउने अवस्थालाई पहिलो विकल्प बनाउन सबै लाग्नुपर्छ।’ त्यसका लागि अस्पतालको सेवामा सुधार गर्नुपर्ने उनको भनाई थियो।
नेपालमा चिकित्सकको एकीन तथ्यांक डिजिटल प्रणाली मार्फत रेर्कड राख्ने व्यवस्था निकट भविष्यमै सुरु गरिने मन्त्री ढकालले जानकारी दिएका छन्।
स्वास्थ्य सचिव खगराज बरालले वर्षौदेखि अध्ययन बिदामा बसेकाहरुको विकल्प खोजिनुपर्ने बताए।
उनले भने, ‘अस्पतालको दरबन्दी रहेका स्वास्थ्यकर्मी लामो समयदेखि बिदामा बस्दा सेवा प्रभावित भएकोछ, कति छ वर्षौदेखि बिदेशमै छन्। तर यता दरबन्दी होल्ड भइरहेको छ। यो समस्या निकै छ। त्यसलाई व्यवस्थित नगरे दरबन्दीअनुसार कागजमा जनशक्ति हुने अस्पतालमा अभाव हुने समस्या बढ्दै जाने भयो।’
उनले स्वास्थ्य मन्त्रालयमा सचिव भएर आएको चार महिना पुग्न लागेको र अघिकांश समय समयोजनकै व्यवस्थापनमा बितेको बताए।
‘समायोजनले निकै दु:ख दिएको छ। जो जहाँ छ त्यही पहिला समयोजन गरेर पछि मिलाउनुपर्ने थियो। कतिपय व्यवहारिक समस्या पनि हेर्नुपर्ने हुन्छ। त्यही भएर नै मैले अनमीको समयोजन रोकेको छु। महिलाको पुरुषको भन्दा धेरै व्यवहारिक,पारिवारिक समस्या हुन्छन्। ती कुरा पनि सोच्नुपर्छ,’ उनले भने।
अस्पतालका निर्देशक डा आरपी बिच्छाले अस्पतालका समस्या, बजेट अभाव, कर्मचारी, सवारी साधानको अभावलगायतबारे मन्त्रीलाई जानकारी गराएका थिए।
७० जना स्टाफनर्स, २० जना मेडिकल अफिसर, ११औँ तहको प्याथोलोजिष्ट,११ तहकै रेडियोलोजिष्ट अत्यावश्यक रहेको बताएका थिए।
अस्पतालमा ८ जना विभिन्न बाल रोगका विशेषज्ञ चिकित्सक, ९ र १० तहका ११ जना र ४० रेजिडेन्ट चिकित्सक कार्यरत रहेको निर्देशक बिच्छाले जानकारी दिए।
मन्त्री ढकाल, सचिव बराललगयातले अस्पतालले दिने विभिन्न विशिष्टकृत सेवा दिने वार्डको निरीक्षण गरेका थिए।
निर्देशक बिच्छाले अस्पतालले बच्चाको आँखा सेवा र हार्डजोर्नी सेवा बाहेक अन्य सबै सेवा दिइरहको बताए।
कान्ति बालअस्पतालमा बार्षिक रुपमा १३ लाख् बालबालिकाले ओपिडिी सेवा लिने गरेको अस्पतालको भनाई छ। ३५२ शैयाको यो अस्पतालमा अहिले ३२५ शैयामात्र सञ्चालनमा छ।