पछिल्लो समय सहरी क्षेत्रमा बच्चाको मोटोपना बढ्दै गइरहेको छ। यो जनस्वास्थ्यको हिसाबले एउटा गम्भिर समस्या हो।
केही वंशाणुगत रोग वा हर्मोनको गडबडीका कारण पनि बच्चामा मोटोपना हुन सक्छ। त्यसैले मोटो बच्चालाई समयमै मूल्यांकन र उपचार गर्न चिकित्सक कहाँ लैजानु आवश्यक छ।
बाल्यावस्थामा हुने मोटोपनाले युवा उमेरमै उच्च रक्तचाप, मुटुरोग, मधुमेह, पित्तथैलीमा पत्थरी, कलेजो सम्बन्धी रोग, श्वास फेर्न गाह्रो हुने र मानसिक समस्या समेत निम्त्याउन सक्दछ।
जन्मँदा बच्चा कम तौलको हुनु र पर्याप्त अवधिसम्म स्तनपान नगराउनाले बाल्यावस्था वा त्यसपछिको अवस्थामा मोटो हुने सम्भावनालाई बढाउँछ। अधिक मात्रामा फास्ट फुडहरूमा गएर खाने, घरमै पनि अत्यधिक मात्रामा खानेकुरा उपभोग गर्ने, धेरै क्यालोरी भएका, बोसोयुक्त, फाइबर कम भएका खाना र साथै गुलियो पेयपदार्थ धेरै सेवन गर्ने जस्ता बदलिँदो सामाजिक आनीबानीहरूले मोटोपना निम्त्याउन योगदान दिएको छ।
अत्यधिक कम्प्युटर चलाउने र टिभी हेर्ने, शारीरिक व्यायाम नगर्ने र अन्य बिलासी जीवन जीउने प्रवृत्तिले पनि शहरी क्षेत्रका बच्चाहरूमा मोटोपनाको समस्या देखिएको हो।
मोटोपनको रोकथाम र व्यवस्थापन कसरी गर्ने?
गुलियो पेयपदार्थ कम सेवन गर्ने।
सुत्ने कोठा वा स्थानबाट टिभी र कम्प्युटर हटाउने।
बच्चाले दिनहुँ बिहान चिया नास्ता गरेको कुरा सुनिश्चित गर्ने।
घरबाहिर फास्ट फुडहरूमा खाने बानी नियन्त्रण गर्ने र घरमा पकाएका चिजबिजलाई बढावा दिने।
प्रशस्त मात्रामा सागसब्जी र फलफूलयुक्त खानामा बढावा दिने।
क्याल्सियम र फाइबरयुक्त सन्तुलित आहार उपभोग गरेको कुरा सुनिश्चित गर्ने।
जन्मेको १ घण्टाभित्र स्तनपान गराउन थाल्ने र ६ महिनासम्म स्तनपान मात्र गराउने।
नियमित शारीरिक व्यायाम र बाहिरी खेलकुदहरूमा भाग लिन बढावा दिने।
बच्चाहरूमा हुने मोटोपनालाई व्यवस्थित गर्न अभिभावकहरूको प्रयासका साथै जीवनशैली परिवर्तन गर्न आवश्यक हुन्छ। बच्चाहरूको खाने बानीमा परिवर्तन र शारीरिक रूपमा सक्रिय हुने जस्ता स्वस्थ बानी र व्यवहार अपनाएमा शरीरको तौल सामान्य गर्न र स्वस्थ हुन सकिन्छ।
बच्चाहरूमा हुने मोटोपनालाई व्यवस्थित गर्न पूरै परिवारकै जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक हुन्छ।