काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समायोजन अझै लम्बिने संकेत देखिएको छ।
समयोजनको प्रक्रिया सुरुवातमै समस्यामा परेको स्वास्थ्य मन्त्रालयले त्यसलाई सुल्झाएर सम्पन्न गर्न केही समय थप लाग्ने जनाएको छ।
मन्त्रालयका प्रवक्ता तथा समायोजन गुनासो व्यवस्थापन संयोजक महेन्द्रप्रसाद श्रेष्ठले समायोजनका केही नीतिगत निर्णय आवश्यक भएको बताएका छन्।
उनले कर्मचारी समयोजनमा मुख्य चार समस्या देखिएको र ती समस्याको नीतिगत निर्णय गरी समाधान खोज्नुपर्ने बताए।
स्वास्थ्यमन्त्री भानभक्त ढकाललाई यसविषयमा जानकारी गराएको उनको भनाई थियो।
समायोजनका देखिएका मुख्य चार समस्या
मन्त्रालयका प्रवक्ता श्रेष्ठ समयोजनका चार समस्याको मन्त्रीपरिषद् र मन्त्रीस्तरीय निर्णय आवश्यक भएको बताउँछन्। उनका अनुसार समायोजनमा देखिएका मुख्य चार समस्या यस्ता छन्।
साधारण समस्याः नाम, पद, ठाँउ नमिलेका, दुर्गममा खाली हुँदा पनि जान नपाएकाहरुको समस्या। मन्त्रालयले समयोजन गर्दा धेरै कर्मचारीको नामपद र स्थान मिलेको छैन। मन्त्रालयमा यस्ता समस्या भएर सात हजार कर्मचारीले गुनासो दर्ता गराएका छन्। अहिलेसम्म एइक हजारको मात्र गुनासो सम्बोधन भएको बताइएको छ। एक हजारको गुनासो प्रक्रिया रहेको बताइएको छ।
सुगम खोज्ने भीडः सबै कर्मचारीलाई काठमाडौं वा सुगम ठाउँमा समायोजन भएर जान मन छ। दुर्गममा कोही जान मान्दैनन्।
नीतिगत समस्याः कर्मचारीको पद, तह घटेको छ। पदनाम घटेको छ। स्थानीय तहबाट माथि प्रदेश वा संघमा आउन खोज्नेको समस्या छ।
स्थानीय पालिकाले फिर्ता गर्नेः स्थानीय तहले स्वास्थ्य मन्त्रालयले समयोजन गरी पठाएका कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाएका कर्मचारीको संख्या धेरै छ।
उनले तह, पद र पदनाम घटेको समस्याबारे दुई हजारभन्दा अदालतमा मुद्दा परेको बताए। उनले भने, ‘पद,तह र पदनाम घटेका कर्मचारीको दिनमा दश वटा मुद्दा परिरहेको छ। यसमा नीतिगत निर्णय हुनुपर्छ।’
स्थानीय पालिकाले भने दरबन्दीभन्दा बढी भएर फर्काएको र अर्को आफ्नो मान्छे राख्नका लागि मन्त्रालयले पठाएका कर्मचारी फिर्ता पठाएको प्रवक्ता श्रेष्ठले बताए।