काठमाडौं- मिर्गौला तस्करीको आरोपमा जिल्ला अदालत ललितपुरले थुनामा पठाएका ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई उच्च अदालत पाटनले धरौटीमा छोडेको छ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले उनीहरुलाई धरौटीमा छाड्ने आदेश गरेको हो।
जिल्ला अदालत ललितपुरले उनीहरु सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। ललितपुर जिल्ला अदालतको आदेशले कात्तिक २७ गते उनीहरुलाई थुनामा पठाएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध उनीहरुले २०७६ मंसिर ९, ११ र १५ गते उच्च अदालतमा निवेदन दिएका थिए। उनीहरुको निवेदनमा मुख्य न्यायाधीश सहितको संयुक्त इजलासले धरौटी माग गरेको हो।
उच्चले निदानका कानुन व्यवसायी कुमुदकुमार भट्टराईलाई ९ लाख, सिइओ विपेन्द्र प्रधानलाई पाँच लाख धरौटी माग गर्ने आदेश गरेको थियो। अन्य कर्मचारीलाई भने उच्चले साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो। उच्चको उक्त आदेशपछि उनीहरु धरौटीमा रिहा भएका छन्।
उनीहरुमाथि नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप मानव बेचबिखन तथा ओसारप्रसार मानव अंक मिर्गौला झिकेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
रामेछाप दोरम्बा- ३ का शंकर लामा योञ्जन मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला किनबेच गरी प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको थियो। असोज २९ गते मिर्गौला तस्करी काण्डमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका थिए।